अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन ।
उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ ।
मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ । यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन । बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिह्न छन् । राजनीतिक दलले मतदाता शिक्षामा जोड दिन आवश्यक छ ।
उम्मेदवाहरुबीच भेला गर्ने कार्यमा मात्र प्रतिस्पर्धा चलेको छ । बागलुङमा पाँच दलीय गठबन्धन र एमाले–राप्रापको तालमेल छ । गठबन्धन गरेका पाँच दलले मुख्य पदमा आफ्नै चुनाव चिह्न प्रयोग गरेका कारण मतदाताले मत चिह्न तलमाथि प्रयोग गर्नुपर्ने अवस्था छ भने एमाले र राप्रपाको तालमेलका कारण पनि दुई फरक–फरक चिह्नमा मतदान गर्नुपर्ने अवस्था छ ।
निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो । “समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन । बजेट पनि पठाएको छैन”, उहाँले भन्नुभयो, “हामी मतपत्र र अन्य मतदानका लागि आवश्यक सामग्री मिलाएर मतदान केन्द्रमा पठाउने तयारीमा छौँ ।”
“मतदाता शिक्षाका लागि हामीले नमूना मतपत्र छापेर स्वस्तिक चिह्नसहित गाउँमा कार्यकर्तालाई पठाएका छाँै”, उहाँले भन्नुभयो । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रको मतदाता सङ्ख्याको आधारमा मतपत्रसहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ ।

