नेपाली अर्थतन्त्र – नेपाली अर्थतन्त्रमा पछिल्लो समय समस्या भएको भन्ने कुरा आएको छ। आयात बढेको छ। तरलताको समस्या देखिएको छ। व्यापार घाटा बढेको छ। शोधनान्तर घाटा बढेको छ र विदेशी विनिमय सञ्चिति घटिरहेको अवस्था छ।
अर्कातिर सरकारले पुँजीगत खर्च पनि गर्न सकेको छैन। आयात बढ्दा विदेशी विनिमय सञ्चिति घटेको भन्दै राष्ट्र बैंकले केही दिनदेखि केही वस्तुको आयातमा कडाइ गरेको छ। तर, आयातमा कडाइ गर्दा त्यसका सकारात्मक नकारात्मक दुवै असर पर्ने कुराहरू पनि चर्चामा आइरहेका छन्।
पछिल्लो समय राष्ट्र बैंकले जुन नियन्त्रणको कुरा गरिरहेको छ, त्यो नियन्त्रण सबै वस्तुहरूमा छैन। औद्योगिक कच्चा पदार्थहरूमा त झनै छैन। त्यसैले आयात नियन्त्रण त्यो स्थितिमा पुगेको होइन। अहिले सतर्क हुनुपर्ने कुरा आयात बढेका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ।
भोलिका दिनमा त्यसले पार्ने असरका विषयमा सतर्क हुनु जरुरी रहेको छ। नियन्त्रणका केही उपाय अवलम्बन गर्नुपर्छ। यसमा राष्ट्र बैंकको कदमलाई सकारात्मक नै मान्नुपर्छ। हुन त आयात नियन्त्रणका सरकारले सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको हो ।
तर, सरकारले आफ्नै पुँजीगत खर्च गर्न सकेको छैन। खर्च गर्न नसक्नुको अर्थ यसले आर्थिक वृद्धिलाई असर गर्छ। वृद्धिलाई असर गर्नु भनेको अर्थतन्त्रका समग्र सूचकहरूमा असर पर्नु हो। बजार होस्, पुँजीबजार होस् या श्रमबजार।
यी सबै क्षेत्र चलायमान हुनुपर्ने हो। तर, यो चलायमान हुन सकेको छैन। यसले अर्थतन्त्रमा नकारात्मक असर परेको देखिन्छ। अहिले मुलुक त्यही दिशामा गइरहेको छ। अर्थतन्त्रमा अहिलेको अवस्था आउनुको कारण सरकारले आफूसँग भएको पैसा ढुकुटीमा थन्क्याएर राख्नु नै हो।
गर्छु भनेको खर्च गर्न नसक्ने, ऋण लिएको दायित्व बढ्दै जाने तर त्यसको सदुपयोग गरेर प्रतिफल निकाल्नुपर्नेमा खर्च नै गर्न नसकेपछि कसरी अर्थतन्त्र सकारात्मक हुन सक्छ ? सरकारले त्यसतर्फ सोच्नु जरुरी रहेको छ। कोरोनालगायतका कारणहरूले नेपालका निजी क्षेत्र चलायमान हुन सकेका छैनन्।
अब कोरोनापछिको समयमा निजी क्षेत्र राम्रोसँग सञ्चालन हुन सकेनन् भने अर्थतन्त्र ओरालो लाग्छ। त्यसैले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ। कुल अर्थतन्त्रमा सरकारको सेयर २० प्रतिशत जति होला, बाँकी सबै निजी क्षेत्रको छ।
अहिलेको अर्थतन्त्रमा देखिएको समस्याको एकमात्र समाधान उत्पादन बढाउनु नै हो। अर्को पाटो नेपालमा इन्धनको खपत बढिरहेको अवस्था छ। मुलुकभित्र कति विद्युतीय साधन चलिरहेका छन्। सार्वजनिक यातायात कत्तिको प्रभावकारी रहेका छन्। त्यता पनि हेर्नुपर्छ।
अब हाम्रो उत्पादकत्व बढाउनका लागि पहिलो कुरा त गुणस्तरीय मानव स्रोत उत्पादन गर्नुपर्छ। प्रविधिको विकास गर्नुपर्छ। नेपालको आयात निर्यातमा रेमिट्यान्सको ठूलो प्रभाव पर्छ। रेमिट्यान्स धेरै आउँदा माग बढ्छ। त्यसले आयात बढाउँछ। अहिले रेमिट्यान्स घटेको छ।
पहिले ३५/४० प्रतिशत पुँजीगत बजेट विनियोजन हुने गथ्र्यो। अहिले त्यो घटेर पछिल्लो समय २५ प्रतिशतको हाराहारीमा झरेको छ। त्यसले गर्दा पनि हामीहरू दीर्घकालीन समस्यामा रहेका छौं ।

