सबैलाई पठाउनु होला

दैलेख  –    लोपोन्मुख जाती राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। राउटे नागरिकहरुले सरकारले उपलब्ध गराउँदै आएको मासिक भत्ता तीन महिनादेखि पाउन नसकेका हुन्।

उनीहरु अहिले जाजरकोटको छेडागाड नगरपालिका–५ थलह बजार क्षेत्रमा बसोबास गरिरहेका छन्। दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण नगर्दा बस्तीमा खाद्य संकट खेप्नु परेको राउटे मुखिया सुर्यनारायण शाहीले बताएकोहो ।

उनले भत्ता नपाउँदा खाद्यान्नको अभाव झेल्नुपरेको बताएको छ । गुराँस गाउँपालिकाबाट प्रत्येक तीन महिनामा राउटेलाई भत्ता वितरण गरिँदै आएको थियो। अघिल्लो माघदेखिको भत्ता नपाएको राउटे मुखिया शाहीको भनाई रहेको छ।

मुखिया शाहीले भने, ‘तीन तीन महिनामा भत्ता पाउँथ्यौ, अहिले चार महिना बित्न लागिसक्यो भत्ता पाउन सकेका छैनौ’ । राउटे समुदायका नागरिकहरुले संघीय सरकारले मासिक तीन हजार र कर्णाली प्रदेश सरकारले मासिक दुई हजारगरी पाँच हजार रुपैयाँ पाउँछन्।

भत्ता नआउँदा बस्तीसमेत सर्न नसकेको राउटे नागरिकहरुले बताएका छन्। गुराँस गाउँपालिकाले भत्ता पठाउछौं भनेर ढाटिरहेको राउटे युवा प्रकाश शाहीले बताएको छ । उनले भत्ता नपाउँदा खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परेको बताएको छ ।

‘अहिले बस्ती रहेको वरिपरी काठ पाईदैन्, काठका भाँडाकुडा बनाउन पनि सकेका छैनौ, खाद्यान्न किन्ने पैसा पनि छैन्,’ उनले भने। उनीहरु हाल बसोबास गरिरहेको क्षेत्रबाट बैशाख १४ गते बस्ती सार्ने योजना बनाएपनि भत्ता नआउँदा सर्न सकेका छैनन्।

गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाले आफूले राउटे नागरिकलाई तत्काल भत्ता वितरण गर्न कर्मचारीलाई निर्देशन दिएको बताए। उनले आसन्न निर्वाचनका कारण पनि भत्ता वितरण प्रभावित भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com