काठमाडौं – ‘जापानको चुनाव भन्दा मलाई नेपालको चुनाव धेरै लाग्छ’ १८ वर्षदेखि जापान बस्दै आएका अधिवक्ता बलराम श्रेष्ठ भन्छन्, ‘हामीले यहाँ कमाए पनि नेपाल नै पठाउँछौं । सधैं चिन्ता नेपालकै भइरहन्छ ।
अझ गाउँठाउँको आफ्नो स्थानीय तहको निर्वाचनमा त चासो नहुने कुरै भएन ।’ काठमाडौं महानगरपालिका–६ मूल घर भएका श्रेष्ठलाई स्थानीय तहको विकास आफूले देखेको विकसित देशमा जस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ ।
उनी भन्छन्, ‘यहाँका नगरपालिकामा कुनै पनि काम ५ देखि १० मिनेट भित्र गर्न सकिन्छ । धेरैजसो काम घरबाटै गर्न सकिन्छ । नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो ।’ ‘जापानमा स्थानीय चुनावमा कुनै पनि पार्टीको झण्डा लिएर लड्न पाइँदैन’ अधिवक्ता श्रेष्ठ भन्छन्, ‘नेपालमा पार्टीले उम्मेदवार उठाउँछ । पार्टीको चिह्नमा भोट हाल्न लगाइन्छ । त्यसले घर, टोलहुँदै समाज नै धु्रुवीकरण हुन्छ । यो असाध्यै नराम्रो पक्ष हो । जापानमा त्यस्तो हुँदैन ।’
स्थानीय निर्वाचनमा सकेसम्म व्यक्तिलाई भोट हाल्ने, पार्टी हेरेर भोट नहाल्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने लाग्छ श्रेष्ठलाई । ‘कमसेकम पनि स्थानीय निर्वाचनमा चाहिं त्यसो गर्न सके नेपाली समाज र परिवार विभक्त हुँदैनथ्यो कि !’ अधिवक्ता श्रेष्ठले भने, ‘पार्टीले मौन समर्थन गरे पनि पार्टी चिह्नकै आधारमा भोट हाल्ने प्रवृत्ति कम्तीमा स्थानीय तहमा हटाउनुपर्छ ।’ उनले यसो भन्नुको कारण छ ।
वडा र नगरपालिकामा पहुँच नपुग्नेले काम गर्नै नसक्ने उनको अनुभव रहेको छ । ‘विदेशमा बसे पनि हामीलाई नेपालबाट विभिन्न कागजपत्र मगाउनुपर्छ’ अधिवक्ता समेत रहेका श्रेष्ठ भन्छन्, ‘हाम्रा सन्तान यहीं जन्मे पनि नेपाली हुन्छन् । आफ्नो स्थानीय निकायसँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्ने हुन्छ । तर विभिन्न कागजी काम गर्न एकदमै झन्झटिलो छ । पहुँच पुग्न सके मात्रै समयमा काम बन्ने बाध्यता हामीले व्यहोर्दै आएका छौं ।’ त्यसैले हाम्रालाई होइन राम्रालाई भोट हाल्न उनको अपील रहेको छ ।
गोरखा बारपार्क सुलिकोट गाउँपालिका घर भएका विष्णु गुरुङ लन्डन बरो अफ हन्स्लोको ५६औं मेयर हुन् । दुई दशक बेलायती सेनामा काम गरेपछि अहिले उनी बेलायतको राजनीतिमा निकै सक्रिय भएका छन् । आफूजस्तो सामान्य मान्छे बेलायतमा मेयर बनेर काम गर्न पाउँदा खुसी लागेको उनले बताएका छन् ।
‘नेपालको स्थानीय तहलाई पनि नजिकबाट हेरिरहेको छु । तर त्यहाँ पैसाले पेलेर मात्रै काम अगाडि बढाउन सकिन्छ’ मेयर गुरुङले भने, ‘सामाजिक भाव भएको इमानदार मान्छे पनि यहाँ राजनीतिमा अघि बढ्न सक्ने वातावरण रहेको छ । नेपालमा पनि त्यो वातावरण बनाउनुपर्छ ।’
स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले गरेको खर्च सुन्दा उनलाई आश्चर्य लाग्छ । पदमा पुग्नका लागि राजनीतिक पार्टीले गर्ने गठबन्धन बारे टिप्पणी गर्दै उनी भन्छन्, ‘कुर्सीकै लागि पार्टी मिल्ने र त्यसैका लागि फुट्ने । सत्तामा पुग्नकै लागि जे पनि गर्ने ? यो त निकै स्वार्थीपन भयो ।’
बेलायतमा जसरी मेयरमा काम गर्न पाए आफू नेपालमा पनि काम गर्न इच्छुक रहेको उनको भनाइ छ । गुरुङ भन्छन्, ‘हामी जहाँ बसे पनि आखिर नेपाली नै हो, आफ्नो माटोको माया सबैभन्दा प्यारो लाग्छ ।’
बेलायतमा बस्दै आएका अर्का भूतपूर्व ब्रिटिस गोरखा सैनिक हुन् कास्की मूल घर भएका लक्ष्य गुरुङ । उनी बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट बार्नेट काउन्सिलमा काउन्सिलर पदका उम्मेदवार पनि हुन् । तर बेलायतमा स्थानीय तहको निर्वाचन चलिरहँदा उनलाई चाहिं नेपालको राजनीतिमा पनि उत्तिकै चासो रहेको छ ।
काठमाडौं र पोखरा महानगरपालिकाका बासिन्दा गुरुङलाई स्थानीयवासीका समस्याहरूमा चुनाव केन्द्रित नभएकोमा चिन्ता छ । उनी भन्छन्, ‘बेलायतमा जस्तै नेपालको स्थानीय चुनाव लोकल इस्सुमा केन्द्रित हुनुपर्थ्यो । यहाँ हामी त काउन्सिल ट्याक्स, सार्वजनिक यातायात, नगर क्षेत्रमा हुने अपराध जस्ता स्थानीय विषयमा नै केन्द्रित रहेर आफ्ना प्रतिबद्धता सार्वजनिक गर्छौं ।’

