काठमाडौं – न्याय प्रशासन ऐनअनुसार, सर्वाेच्च अदालतको फैसला अन्तिम हुन्छ। तर, फैसलामा गम्भीर त्रुटि भेटिए वा प्रतिपादित नजिर बाझिए तथा नयाँ तथ्य वा प्रमाण फेला परे पुनरावलोकन हुन्छ।
त्यहीँ पुनरावलोकनको व्यवस्थाअनुसार, सर्वोच्च अदालतले रञ्जन कोइरालालाई कैद घटाउन गरेको फैसला उल्ट्याएको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीबार सर्वोच्चको फैसला उल्ट्याएको थियो ।
पूर्ण इजलासको फैसलासँगै पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका कोइराला पुनः कैद बस्नुपर्ने छ। दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद मिनाहाको राय सुनाएको थियो।
२०७७ असार १५ गते कोइरालाको ८ वर्ष ६ महिना हुने गरी सजाय घटाएको थियो। सर्वोच्चको फैसला प्रतिआपत्ति जनाउँदै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन २१ गते निवेदन दिएको थियो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कोइरालाको हकमा उच्च अदालत (तत्कालीन पुनरावेदन)को फैसला सदर भएको छ।
यसअघि सर्वोच्चको ८ वर्षको राय बदर भएको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले फैसलाअनुसार २० वर्ष नै सजाय कायम हुने बताएका छन् । ‘पहिला जति कैद भुक्तान गरेको हो त्यसमा घटाएर बाँकी अवधि जेलमा बस्नुपर्छ,’ उनले भने। कोइराला झन्डै साढे ११ वर्ष कैद बस्नुपर्ने छ।
यस्तो थियो अघिल्लो फैसला
प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले पत्नी हत्याको जघन्य अपराध गरे पनि ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै कैद सजाय घटाउने फैसला गरेको थियो।
फैसलामा भनिएको छ, ‘गीता ढकाल बसेको घरमा प्रतिवादी रञ्जनप्रसाद कोइराला जाँदा गीता ढकालले व्यापारका लागि पैसा मागेका कारण उठेको विवादमा दुवै जनाबीच झै–झगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा टाउको भित्तामा ठोक्किइ मृत्यु भएको।’ सर्वोच्चले वादविवाद हुँदा आवेशमा घटना भएको भनी व्याख्या गरेको पाइएको छ।
सर्वोच्चमाथि नै प्रश्न : रञ्जनको मुद्दा फैसलाविरुद्ध पुनरावलोकन निवेदन
‘आमाको मृत्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा अभिभावकविहीनताका कारण अनिश्चय र अन्योलता हुन गएको’ सर्वोच्चको फैसलामा थप उल्लेख गरिएको छ।
सर्वोच्चले पुरानो मुलुकी ऐन,२०२० को अदालती बन्दोबस्तीको महलको १८८ नम्बरको व्यवस्था र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १७ ‘क’ लाई पनि उदृत गरेको छ। खारेज भइसकेको कानुनको प्रयोग गरिएको र हालकै कानुनी व्यवस्थाको पनि मनोमानी व्याख्या गरेको भन्दै कानुन व्यवसायीले ‘कार्यक्षमता’ मै प्रश्न उठाएका थिए।
महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएको थियो। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले न्यायप्रशासन ऐनमा नजिर तथा कानुनका मान्य सिद्धान्तको प्रतिकूल फैसला भएको देखिएपछि पुनरावलोकनका लागि निवेदन दिएको बताएका छन् ।
नयाँ ऐनमै भएको व्यवस्थाको गलत प्रयोग भएको र अपराधको गाम्भीर्यता हेर्दा पनि कैद घटाउन नमिल्ने भनी दाबी महान्यायाधिवक्ता कार्यालयको थियो। प्रवक्ता रेग्मीले यी दुवै कानुनी व्यवस्था कोइरालाले गरेको पत्नी हत्यामा लागू नहुने तर्क पेस गरिएको बताएका छन् । ‘हाम्रो तर्कमा सहमत भएर सर्वोच्च अदालतको पछिल्लो फैसला आएको छ।’ उनले भने, ‘यसअघिका सर्वोच्चले स्थापित गरेका नजिरको प्रतिकूल छ भनेर नै पुनरावलोकन दिएका हौं।’
के थियो घटना ?
रञ्जन कोइराला सशस्त्र प्रहरीका पूर्वडीआईजी हुन्। २०५० सालमा दाम्पत्य जीवनमा बाँधिएका रञ्जन र गीताका दुई छोरा छन्। दुई छोरा जन्मिएपछि कोइरालाको रेग्मी थरकी महिलासँग सम्बन्धमा थिए। उनले पत्नी गीतालाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको परिवारले जनाएको छ।
दुवै छुट्टिएर बसेका थिए। कोइरालाले अंशचलान मुद्दा र गीताले कोइरालामाथि मानाचामल मुद्दा हालेका थिए। तालिमका सिलसिलामा कोइराला २०६८ भदौमा चीन गएका थिए। पुस २१ मा चीनबाट बिदामा स्वदेश फर्के। पत्नी गीताको घरमा गए। पुस २७ मा गीताको घरबाट कान्छो छोरा लिएर आफू बस्ने घरमा राखेको थियो ।
कोइरालाले पुस २७ गते बिहान सशस्त्र प्रहरीका जवान एवं आफ्ना सवारी चालक शंकर पौडेललाई फोन गरी दुइटा ग्यालेन १ सय २३ लिटर पेट्रोल घरमा मगाएका थिए। पत्नीको शव जलाउने योजना बनाइसकेको घटनाक्रमबाट देखिन्छ।
दोस्रोपटक कोही नभएको बेला दिउँसो उनी गीताको घरमा गएका थिए। कोठामै हत्या गरेर पेट्रोलसहित शव लिएर उनले मकवानपुरको सडक छेउमा पत्नीको शव जलाउने प्रयास गरेका थिए। कोइरालाले पुस २७ मै पत्नीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।
मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए। पुस २८ गते जलेको अवस्थामा शरीरका केही अंग भेटिएको थियो। डीएनए परीक्षणबाट ती अंग गीताकै भएको पुष्टि भएको थियो। कोइराला माघ ८ मा नागढुंगामा बा ८ च ५४०८ नम्बरको गाडीसहित पक्राउ परेका थिए।
१० दिनसम्म पनि छोरी नभेटिएपछि बुवा हरेरामले २०६८ माघ ६ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। दुई दिनपछि गीताको शव फेला पर्यो। हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जनविरुद्ध जाहेरी दिएको थियो ।
झन्डै साढे दुई वर्षपछि काठमाडौं जिल्ला अदालतले रञ्जनलाई जन्मकैदको फैसला गरेको थियो। अदालतले प्रेमिका भनिएकी रेग्मीलाई एक वर्ष सजाय हुने फैसला सुनाएको थियो। त्यसविरुद्ध तीनै पक्ष तत्कालीन पुनरावेदन अदालत पाटन गएको थियो ।

