सबैलाई पठाउनु होला

खाद्य संकट –   रूस र युक्रेनको युद्धका कारण विश्व नै खाद्य संकटतर्फ धकेलिन सक्ने संयुक्त राष्ट्र तथा विश्व व्यापार संगठनले प्रक्षेपण गरेका छन्। संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लेयले अहिले नै विश्वका ४ सय मिलियन मानिसले खाना नपाइरहेको बताएका छन् ।

पछिल्लो समय भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा सिपिङ कस्ट पनि निकै उच्च भएको छ। यस्तो अवस्था रहिरहने हो भने ३२० मिलियन मानिसले भोकमरीको सामना गर्नुपर्नेछ। तीमध्ये ४३ देशका ४९ मिलियन मानिसको अवस्था निकै नाजुक रहने पनि बेस्लेयले बताएका छन् ।

यो भनेको सन् २००८÷२००९ को विश्व आर्थिक संकटभन्दा बढी खतरनाक समय हुने पनि उनको तर्क रहेको छ। विश्व व्यापार संगठनकी महानिर्देशक न्गोजी ओकोन्जो वेलाले यो खाद्य संकटले युक्रेनी जनतासँगै गरिब देशका गरिब जनता मारमा पर्ने बताइन्।

गरिब देशहरू धान, गहुँ, मकैलगायत खाद्यवस्तुहरू आयात गर्नेमा पर्छन् र यी देशहरू नै मारमा पर्ने उनको भनाइ रहेको छ। युक्रेनमा रोकिरहेको २५ मिलियन टनभन्दा बढी अन्न र काट्नलाई तयारी भएको २५ मिलियन टनभन्दा बढी अन्न चाँडै बजारमा ल्याउन सकिएन भने यसले विश्वमा भोकमारी फैलाउने उनको चेतावनी रहेको  छ।

रूसको आक्रमणका कारण युक्रेनका सबै नाका नै बन्द छन्। विश्वलाई भोकमरीबाट जोगाउन र खाद्यान्नको मूल्यवृद्धिलाई कम गर्न आन्तरिक उत्पादनमा जोडसँगै निर्यातीत मुलुकहरूले स्टकमा राखेका खाद्यवस्तुलाई विश्व व्यापारमा लैजानुपर्ने महानिर्देशक वेलाको सुझाव रहेको  छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अप्रिलमा आएको रिपोर्टले पनि रुस–युक्रेन युद्धका कारण विश्वको मुद्रास्फीति विकसित मुलुकमा ५.७ प्रतिशत र उदाउँदो तथा विकासशील मुलुकहरूमा ८.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। युद्धले पहिले नै वस्तुको मूल्य बढेको छ। वर्षौंको सुस्त लगानी र भूराजनीतिक अनिश्चितताले तेल र ग्यासको आपूर्तिमा भएको कडाइले गत वर्ष नै ऊर्जा र खाद्यान्नले मुद्रास्फीति बढाउन मद्दत गरेको रिपोर्टमा रहेको छ।

आर्थिक मन्दी आउन सक्छ  

विश्व बैंकका प्रमुखले युक्रेनमा रूसको आक्रमणले खाद्यान्न, ऊर्जा र मलको मूल्य उकालो लाग्दा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएका छन्। डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा मन्दीबाट बच्न गाह्रो भएको बताएका छन् ।

चीनमा कोरोना भाइरसका कारण भइरहेको लकडाउनको शृंखलाले विश्व व्यापारमा सुस्तता थपेकोमा चिन्ता व्यक्त गरेको हो । यसकै कारण विश्व बैंकले चालू वर्षका लागि विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण लगभग पूर्ण प्रतिशत अंकले घटाएर ३.२ प्रतिशतमा झारेको छ।

मालपासले धेरै युरोपेली देश अझै तेल र ग्यासका लागि रूसमा निर्भर रहेको बताए। उनले यूएस चेम्बर अफ कमर्सले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै रूसले ग्यास आपूर्ति कटौती गर्ने कदमले यस क्षेत्रमा ‘पर्याप्त मन्दी’ निम्त्याउन सक्ने पनि बताएका छन् ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जर्मनीमा ऊर्जाको उच्च मूल्यले पहिल्यै असर पारेको छ। ‘मल, खाद्यान्न र ऊर्जाको अभावले विकासोन्मुख देशहरू पनि प्रभावित भइरहेका छन्’, मालपासले भने, ‘चीन पहिले नै घरजग्गाको केही संकुचनबाट गुज्रिरहेको थियो।

त्यसैले रूसको आक्रमणअघि चीनको वृद्धिको पूर्वानुमान सन् २०२२ का लागि पर्याप्त रूपमा नरम भइसकेको थियो। त्यसपछि कोभिडका छालहरूले तालाबन्दी निम्त्यायो। जसले चीनको वृद्धिको अपेक्षालाई कम गर्‍यो।’

चीनका प्रधानमन्त्री ली केकियांगले विश्वको दोस्रो ठूलो अर्थतन्त्र २०२० मा महामारीको सुरुवातमा भन्दा पछिल्लो चरणको तालाबन्दीले कडा मारमा पारेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com