आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।७ वर्षपछि रोल्पा आएका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’ महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी गरे।
तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै दाहालले भने, ‘संविधान र जनयुद्ध तथा जन आन्दोलनले स्थापना गरेका मान्यता उल्ट्याउने देखेपछि गठबन्धन निर्माण गरिएको हो ।’ उक्त गठबन्धनको अझै खाँचो भएको उनको दाबी रहेको छ ।
केही दिनअघि राजनीतिक कार्यक्रममा भाग लिन गृह जिल्ला आएका पार्टी प्रवक्ता महरालाई दाहालले घरमै पुगेर भेटेका थिए ।दाहालले रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन समेत गरे ।
उनले आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र ठूलो राजनीतिक परिवर्तन गरेको दाबी गरे । उनले भने ,’यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको छ’। लिवाङमा जिल्ला पार्टीले दिउँसो आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

