सबैलाई पठाउनु होला

 आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  बताएका छन् ।७ वर्षपछि रोल्पा आएका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं ।’ महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी  गरे।

आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न आएका दाहालले निर्वाचनमा  तालमेल र  गठबन्धन  गर्न सकिने निर्णय पनि गरिएको बताए । ‘गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको छ  ‘, उनले भने ।

तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै दाहालले भने, ‘संविधान र जनयुद्ध तथा जन आन्दोलनले स्थापना गरेका मान्यता उल्ट्याउने देखेपछि गठबन्धन निर्माण गरिएको हो ।’ उक्त गठबन्धनको अझै खाँचो भएको उनको दाबी रहेको छ ।

केही दिनअघि राजनीतिक कार्यक्रममा भाग लिन गृह जिल्ला आएका पार्टी प्रवक्ता महरालाई दाहालले घरमै पुगेर भेटेका थिए ।दाहालले रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन समेत गरे ।

उनले आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र ठूलो राजनीतिक परिवर्तन गरेको दाबी गरे ।  उनले भने ,’यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको छ’। लिवाङमा जिल्ला पार्टीले दिउँसो आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com