ललितपुर – ललितपुर जिल्ला समन्वय समिति (जिसस)मा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएका छन्। जिसस प्रमुखमा नेपाली कांग्रेसका नेता ऋषि फुयाँल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रामलाल थिङ निर्वाचित भएका हुन्।
कांग्रेस र माओवादी केन्द्रले जिससमा तालमेल गरेर मनोनयन दर्ता गराएका छन् ।बुधबार जिससको निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार मनोनयन दर्ता भएपछि उनीहरुको बहुमत भएकाले नेकपा एमालेले उम्मेदवारी नै दर्ता नगराएको हो।
१२ मतदाता रहेकोमा कांग्रेसका ७, माओवादी केन्द्रका २ र एमालेका ३ मतदाता थिए। ६ स्थानीय तह रहेको ललितपुरमा कांग्रेस एक्लैको पक्षमा बहुमत भएपनि स्थानीय तहमा चुनावी गठबन्धन गरेकाले माओवादी केन्द्रलाई पनि समेटेको छ ।
एमालेबाट उम्मेदवारी नपरेपछि कांग्रेस–माओवादी गठबन्धन मनोनयन दर्ता भएका उम्मेदवार निर्विरोध चयन भएका छन् । खुला सदस्यमा दिनेश घोरासैनी (कांग्रेस), हरिहर कार्की (कांग्रेस), सादुराम श्रेष्ठ (माओवादी केन्द्र) निर्वाचित भएका हुन ।
अल्पसंख्यकबाट सुवेरबहादुर पहारी (कांग्रेस), महिला सदस्यमा शोभा महर्जन (माओवादी केन्द्र), महिला सदस्यमा कांग्रेसबाट गीता खड्का र शोभा कार्की निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित जिसस पदाधिकारी र सदस्यलाई बिहीबार पदभार ग्रहण गराउने कार्यक्रम रहेको छ।

