सबैलाई पठाउनु होला

जोमसोम –   पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एन–एईटी जहाज निर्धारित समयमा अवतरण भएन। दुर्घटनाको हल्लीखल्ली मच्चियो। यो घटना हो, गत आइतबारको। छिनभरमै जहाज थासाङक्षेत्रमा दुर्घटना भएको भन्ने हल्ला र समाचार व्यापक हुन थाल्यो।

‘म्याग्दीको आकाशबाट क्रस गरेको उक्त जहाज एकाएक कता गायब भयो ?, कता खस्यो ?’ ठाउँको एकिन हुन सकेन। जोमसोम र थासाङक्षेत्रमा जहाज हराएको भन्दै विभिन्न माध्यमबाट फोन सम्पर्क गर्ने प्रयास भएको थियो । सोही जहाज हराएको खबर आइतबार बिहान ११ बजे गाउँको साथीको मोबाइलबाट थाहा पाए, बागलुङ बडीगाउँ गाउँपालिका–७ भीमबिठे असारेका २४ वर्षीय तन्नेरी युवा, विशाल घर्ती मगरले। विशाल त्यस दिन यार्सागुम्बा टिप्न गएका थिए।

उनलाई कोवाङमा रहेका भेनाले पनि जहाज हराएको विषयमा जानकारी गराएकाले ‘पक्कै पनि जहाज दुर्घटना भयो’ भन्ने विश्वास उनले गरेका थिए । तर, कता खस्यो ? त्यस दिन पत्ता लगाउन सम्भव थिएन। थासाङको धौलागिरि र मानापाथी हिमालको फेदमा बाक्लो हुस्सु र बादल मडारिएको थियो। नजिकै दृश्यसमेत देख्न सक्ने अवस्था थिएन।

जहाज हराएको खबर सुने पनि यार्सा टिप्न तल्लीन उनीहरू जहाज दुर्घटना भएको ठाउँबाट डेढ घण्टा माथि उचाइमा  रहेका थिए। उनीसँग भान्जा र अर्को साथी श्यामलाल नेपाली थिए। अहिले जहाज खसेको ठाउँ र उनको गोठ रहेको ठाउँ झन्डै डेढ घण्टा पैदलको फरकमा पथ्र्यो। बाग्लुङका विशालले त्यसदिन जहाज पड्किएको जस्तो आवाज सुनेका थिए।

तर, केको आवाज हो भन्ने एकिन गर्न सकेका थिएनन्। जहाज हराएको भन्ने सुने पनि आवाज आएको ठाउँको अन्दाज उनले गर्न सकेनन्। त्यस दिन उनीहरू यार्सा टिप्न छोडेर गोठमा आइबसे। थासाङ–३ लेतेका सुमित गौचन जोमसोममा थिए। जहाज हराएको थाहा पाएपछि उनी कोवाङ माथिको लेकमा हानिएका थिए ।

उनले तारा एअरका जोमसोम प्रतिनिधि सुचन लालचनको जीपीएस ट्रयाकिङको आधारमा राति बतासे डाँडा पुगेका थिए । अहिले दुर्घटना भएको ठाउँको दुई डेढ घण्टा पर यार्सा टिप्नेको गोठ देखेका थिए । तर, विशालको गोठ केही पर अनि माथि थियो। राति अबेर गोठ पुगेका सुमितले यसै क्षेत्रमा जहाज हराएको बेली विस्तार विशाललगायतको अन्य टोलीलाई लगाएका थिए ।

कोवाङबाट झन्डै ७ घण्टाको दूरीमा गोठ पुगेका सुमित निकै थकित थिए। भोकाएका उनी यार्सा टोलीसँग चाउचाउ मागेर खाएका थिए । त्यसपछि सुमितले विशालसहितको यार्सा टोलीलाई एकै ठाउँमा राखेर भोलि बिहानैदेखि जहाज खोज्ने बिफ्रिङबारे गरे। सुमितले विशालको टोलीलाई ‘जहाज यतै कता खसेको हुनुपर्छ। कोही जीवित होलान् उद्धार गर्नुपर्छ है भाइ हो,’ भने।

भोलिपल्ट यार्सा टिप्ने टोली समूह–समूह बनाएर जहाज खसेको ठाउँ पत्ता लगाउन हिँडे। विशाल भने बिहानै उठेर एक्लै जहाज खसेको ठाउँ पत्ता लगाउन हिँडे। विशालले आफ्नो गोठबाट डेढ घण्टा पर सानोसरे पहाडमा जहाज दुर्घटना भएको ठाउँ देखेको थियो । उनको होस हवास उड्यो। कारुणीक दृश्य देखेर उनका आँखा रसाए। चारैतिर बादल लागेको थियो।

सुरुमा आत्तिएका उनी साथीलाई चिच्याएर कराउँदै जहाज खसेको ठाउँतिर बोलाएका थिए । ‘जहाज खसेको माथितिर दाइहरू थिए। मैले बोलाएपछि उनीहरू १५ मिनेटमा त्यहाँ आए,’ विशालले भने। कुनै निर्वस्त्र त कुनै टाउँको, हातखुट्टा त कसैको शरीर क्षतविक्षत भएको सम्झिए। ‘सबै साथीहरू आएपछि कोही जिउँदो छन् कि भनेर यततत्र खोज्यौं। तर, कसैलाई जिउँदो भेटेनौं,’ उनले भिनाजुलाई खबर गरेको थियो ।

उनका भिनाजुले कोवाङ चौकीलाई फोन गरे।  विशालले भने, ‘मेरो जानकारीलाई पत्याएनन्। फोटो पठाउनु भने। मैले २/३ वटा फोटो पठाइदिए। त्यसपछि मात्र मेरो कुरामा विश्वास भयो।’ जहाज दुर्घटना भएको स्थान सुरुमा देखेका विशालको फोन त्यसपछि २ घण्टासम्म व्यस्त रह्यो। उनलाई काठमाडौं, पोखरा र जोमसोमबाट विभिन्न निकायले दुर्घटना स्थलको बारेमा जानकारी मागेको थियो ।

दुर्घटनास्थल पहिचान भएको केहीबेरपछि एक इन्सपेक्टर, नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसियसनका ४ टोली र उनीहरू मिलेर त्यहाँको ७/८ वटा शव संकलन गरेका थिए । त्यसपछि अन्य सुरक्षा टोली आएर उद्धारमा खटिएको थियो ।  उनले भने, ‘सुरक्षा निकायको ५०/६० जनाको टोली आइसकेपछि हामी दिउँसो ३ बजेतिर गोठमै फर्कियौं’ ।

यसरी जहाज दुर्घटना भएको स्थान पत्ता लगाएका विशाल मुस्ताङमा विगत ३ वर्षदेखि लगातार यार्सा टिप्दै आएका छन्। उनी यसपटक पनि वैशाख १८ गते बाग्लुङबाट यार्सा टिप्न भान्जा सञ्जय रजालीलाई साथै लिएर मुस्ताङ आएका हुन ।

२०७५ सालमा प्लस टुको परीक्षा दिएर बसेका विशाललाई एक विषय ब्याक लाग्यो। तर, उनले त्यो विषयको परीक्षा दिएनन्। पोखरा बालमन्दिरमा पढेका बाग्लुङका विशाल त्यसपछि आफ्नो पढाइ त्यत्तिकैमा बिट मारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com