काठमाडौं – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् ।
अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताए ।
स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ रहेको छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्का लगायत अन्य घाइते भएका छन् ।
मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भएका थिए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

