काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् ।
अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् ।
बालेनले तिनको जवाफसमेत दिएका छन् । सडकमै भल बग्ने समस्याको समाधानका लागि मेयर बालेन साहले हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका हुन ।
हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताएका छन् । उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताएका छन् ।
यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ रहेको छ । उनले अबदेखि सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने बताए । काठमाडौंमा अबको डेढ वर्षभित्र विद्युतका तारहरु भूमिगत हुने जानकारी आफूले पाएको उनले बताएका छन् ।
कार्यपालिका बैठकमा उनले भने ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्नु भएको छ । यसमा हामी पनि सहकार्य गर्छौं ।’ उनले इन्टरनेटको तार पनि व्यवस्थित गरिने बताएका हुन ।
कार्यपालिका बैठकमा वडाध्यक्षहरुले वडामा नगर प्रहरी बढाउन माग गरेका थिए । उनले जवाफ दिँदै अबदेखि नगर प्रहरीको आवश्यकता पर्ने वित्तिकै सिधै नगर प्रहरी प्रमुखलाई फोन गर्न मिल्ने बताएका छन् ।
यस्तै वडाध्यक्षहरुले सिसडोलमा कसले बल प्रयोग गरेको हो भन्दै गरेको प्रश्नमा बालेनले यो कुरा गृह मन्त्रालयलाई सोध्नुपर्ने र त्यो अधिकार महानगरलाई नभएको बताएका छन् । उनले भने, ‘सिसडोलमा हाम्रो मात्रै फोहोर जाँदैन २२, २३ नगरपालिकाको फोहोर जान्छ । प्रहरी परिचालन गर्ने महानगरको अधिकार छैन । त्यो गृहमन्त्रालयको अधिकार हो’ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरेका हुन । वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले पनि मेयर साह आफ्नो वडामा अनुगमन गर्न आउँदा समन्वय नगरेको गुनासो गरेको छ ।
‘म्यानहोल चोरी भयो, फोहोर बोक्ने गाडी थोरै भए’
वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले रुद्रमतीमा ढलको आकार सानो हुँदा डुबानको समस्या भएको र आफ्नो वडामा १५ दिनभित्र नौ वटा म्यानहोल ढलको (ढक्कन)चोरी भएको सुनाएको छ । उनले कबाडी राख्न दिन नहुने समेत सुझाव दिएको हो ।
यसैगरी वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले टेकु क्षेत्रमा थुपारिएको फोहोर विसर्जन गर्ने २१ वटा गाडीहरुमध्ये चल्ने अवस्थाका ९ वटा मात्र रहेको सुनाएका छन् ।
यी गाडीले दिनमा ३ टिप मात्र फाहोर बन्चरेडाँडाँमा लैजाने भन्दै यस्तै स्थिति रहीरहे फोहोर विसर्जन गर्न महिनौं दिन लाग्नसक्ने बताएको छ । बैठकमा उपमेयर सुनिता डंगोलले बैठक सकारात्मक भएको भन्दै सधैं पूर्व तयारी गरेर बैठक बस्नुपर्ने बताइन् ।
काठमाडौंमा १२ वटा विषयगत समिति
काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले १२ वटा विषयगत समिति गठन गरे । उपमेयरको संयोजकमा राजश्व परामर्श समिति, न्यायीक समिति सहित विभिन्न १२ वटा विषयगत समिति गठन भएको छ ।

