सबैलाई पठाउनु होला

तुलसीपुर – कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।

दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैहुनुहुन्छ ।

पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उहाँले सत्य सावित गर्नुभएको छ । रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उहाँले विद्यालयको अनुभूति गर्न पाउनु भएको थिएन  ।

कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहनुभएको छ । ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो’, उहाँले भन्नुभरको छ , ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।’

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउनुहुन्छ । उहाँले विगत सुनाउनुभयो , ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’।  रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना हुनुभएको हो । त्यसयता उहाँ नियमितरुपमा विद्यालय गइरहनुभएको छ ।

उहाँले बिहान र बेलुकाको समयमा घरको काम भ्याउनुहुन्छ । उहाँले दिउँसोको समयको सदुपयोग गरिरहनुभएको छ । ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु’, रिमबहादुरले भन्नुभयो, ‘दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।’ आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आएको थियो  ।

भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उहाँ बताउनुहुन्छ । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेनछ’, रिमबहादुरले भन्नुभयो,’त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।’

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी हुनुहन्छ । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उहाँले बताउनुभएको छ  । ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु’, लालमतीले भन्नुभयो ।

श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उहाँको भनाइ रहेको छ । रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो ।

‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उहाँले भन्नुभएको हो  । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउनुहुन्छ । अहिले विस्तारै सबै बानी परेका छन् ।

‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो’, प्रधानाध्यापक खत्रीले भन्नुभयो, ‘अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com