कालीकोट – कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ ।
खरले छाएका घरघरपरिवारलाई जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९-८० मा गाउँपालिकाभित्रका सबै खरले छाएका घरलाई विस्थापित गरेर जस्तापाताले छाउने अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभएको छ ।
‘हामीले पहिलो चरणमा खरले छाएका २९ घरधुरीलाई जस्तापाता वितरण गरेको छौँ’, उहाँले भन्नुभयो,’अन्य खरकाले छाएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ ।’ गाउँपालिकामा खरले छाएका केही घरको भइसकेको र केही घरको बाँकी रहेकाले सबैलाई जस्तापाता वितरण गरेर गाउँपालिकालाई खरको छानामुक्त गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष सिंहले बताउनुभएको छ ।
‘निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, उहाँहरुलाई लक्षित गर्ने अभियान सुरु गर्न थालिएको छ’, उहाँले भन्नुभयो, ‘खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गरिएको छ ।’

