सबैलाई पठाउनु होला

आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई सम्मानसहित पुज्ने दिन । माता तीर्थ औँसी पनि भानिन्छ। शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।

तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् । आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।

आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान्।

कसैको सफलतामा काेही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन्। आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् ।

आमा पहिलो औषधि हुन्। अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो। सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पाेल्छ ती आमा नै हुन् ।

आमालाई पढन लेखन त्यति राम्रो आउँदैन तर पनि सबै कुरा जान्दछिन्। सन्तानलाई परेको चिन्ता। आफ्नो सन्तानलाई परेको पीडा। आमाले मेरा हरेक भावानाहरू मज्जाले पढ्न सक्छिन्। मलाई के चाहिएको छ, त्यो आमालाई प्रष्ट थाहा हुन्छ। मेरा चाहनाहरूको लागि मात्र उनले राप र ताप सहेकी छिन्।

कहिलेकाहि यस्तो लाग्छ, एक सन्तानको सासमा नै एक आमाको सास अड्केको हुन्छ। म हाँस्दा सबै सँगै हास्छन् तर म रुँदा सँगै रुने यो संसारमा सिर्फ मेरी आमा मात्र हुन्छिन्।

अब आमालाई हाँस्नु छ भने सन्तान हाँसेको पर्खिनु छ। सन्तानलाई खुसी देखेपछि मात्र अब आमा खुसी हुन सक्छिन्।

अब आमालाई आफैँ कहिल्यै भोक लाग्ने छैन। जब सन्तान पेट भरी खान्छ अनि मात्र आमाको भोक मेटिनेछ। आमाको निन्द्रा पनि त्यो उनको नयाँ संसारले लगिसक्यो। जब सन्तान सुत्दछ अनि मात्र आमालाई निन्द्राले च्याप्छ।

यसरी सन्तानप्रतिको आमाको आगाध माया बडो विचित्रको छ।

जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ। आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन् तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ। सबैभन्दा बढी रोदन आमालाई सन्तान गुमाउनुमा हुन्छ। त्यतिबेला एक अबला आमालाई यस्तो लाग्दो हो, कालले सर्वस्व हरोस्, बरु मलाई नै हरोस् तर मेरो सन्तानलाई केही नहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com