काठमाडौं / काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई वर्ल्ड इकोनोमिक फोरमले ‘योङ ग्लोबल लिडर २०२५’ का रूपमा छनोट गरेको छ । विश्वका प्रतिभाशाली, सम्भावनायुक्त तथा सकारात्मक परिवर्तन ल्याउने नेतृत्व क्षमतायुक्त युवाको पहिचान गर्ने उद्देश्यले यो सम्मान दिइन्छ ।
यस प्रतिष्ठित सूचीमा पर्नका लागि हजारौंले आवेदन दिए पनि यस वर्ष विश्वभरबाट केवल ११६ जना मात्र छनोट भएका छन् । तिनमध्ये डंगोल नेपालको तर्फबाट एक मात्र प्रतिनिधि हुन् । दक्षिण एशियाबाट ११ जना मात्र समावेश भएका छन् भने राजनीति क्षेत्रबाट १९ जनामात्र चयन हुँदा डंगोल पनि तिनैमध्ये एक हुन् ।
उनका साथमा थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि यथेष्ट व्यक्तित्वका रूपमा यस वर्ष छनोट भएका छन् । छनोटप्रति प्रतिक्रिया दिँदै डंगोलले आफूलाई गर्व र खुसी लागेको बताएकी छिन् । उनले भनिन्, ‘यो सम्मान मेरो मात्र होइन, समग्र नेपाली युवा पुस्ताको प्रतिनिधित्व हो । यसले मलाई अझ थप जिम्मेवार बनाउँदै लैजाने र अबको पुस्तामा युवाहरुलाई अझ बढी सशक्त ढंगले अगाडि बढ्न प्रेरित गर्दछु। र म आफ्नो भूमिकामा अझ उत्कृष्टता हासिल गर्न प्रतिबद्ध छु ।’
सुनिता डंगोलको परिचय राजनीति मात्र सीमित छैन । उनी ‘मिस नेवा २०११’ की विजेता तथा ‘लिपी क्वीन’का रूपमा पनि चिनिन्छिन् । स्थानीय लिपीहरूको संरक्षण र प्रवर्द्धनमा उनले खेलेको भूमिकालाई लिएर नै यो पहिचान थप सुदृढ भएको हो ।
उनको नेतृत्वमा टोल, चोक, घरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म ‘क्यालिजात्रा’को माध्यमबाट नेपाली लिपीको जागरण अभियान सफलतापूर्वक संचालन गरिएको थियो । यही सक्रियता र समर्पणका कारण उनी यो विश्वस्तरीय मञ्चमा छानिन सफल भएकी हुन् ।

