सबैलाई पठाउनु होला

गुनासो चौतारी । गोरखापत्र स्थापना दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले शुभकामना प्रदान गर्नुभएको छ। सञ्चार क्षेत्र देशको चौथो अङ्ग मात्रै नभएर देश विकास र समाज रूपान्तरणको लागि सुसुचित गर्ने एउटा थलो पनि हो।

गोरखापत्र दैनिक नेपालबाट प्रकाशित पहिलो अखबारमात्रै होइन, दक्षिण एसियाकै अग्रणी समाचारपत्र हो । यसले २०८२ साल वैशाख २४ गते प्रकाशन शुभारम्भको गौरवशाली १२५ वर्ष पूरा गर्दै छ । १२५ वर्षको यो अवधि उसको एकल यात्रामात्र होइन, यो त सिंगो नेपाली पत्रकारिताको ऐतिहासिक यात्रा पनि हो । गोरखापत्र नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको जिउँदो साक्षी हो । इतिहासका घटनाक्रम र तात्कालीन सामाजिक, आर्थिक परिवेश केलाउन अनुसन्धाताहरुको स्रोत सामग्री बन्दै आउनुबाट गोरखापत्रको महत्त्व पुष्टि हुन्छ ।

सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरले विक्रम संवत १९५८ सालको वैशाख २४ गते गोर्खापत्र प्रकाशन सुरु गरे पनि पत्रिकाको संस्थागत विकास र सञ्चालनको उद्देश्यले २०१९ सालमा ऐन ल्याई २० सालमा गोरखापत्र संस्थान स्थापना भयो । यसै सन्दर्भमा संस्थानले ६३ औं वार्षिकोत्सव मनाउन लागेको र यही छेकोमा ‘युग साक्षी‘ नामको पुस्तक प्रकाशन गर्न लागेकोमा खुसी लागेको छ ।

संस्थानले प्रकाशन गर्ने पुस्तकले नेपालको ऐतिहासिक घटनाक्रम र समाजका विभिन्न पक्षलाई एकै स्थानमा समेट्ने महत्त्वपूर्ण काम गर्ने छ। गोरखापत्र, ‘दि राइजिङ नेपाल’, ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ जस्ता प्रकाशनहरूले नेपाली पत्रकारितामा छुट्टै स्थान बनाएका छन्। यस संस्थानले डिजिटल युगमा पनि आफूलाई अनलाइन मञ्चहरूसम्म विस्तार गर्दै गोरखापत्र अनलाइन, राइजिङ डेली अनलाइन, गोरखापत्र युट्युब च्यानल, फेसबुक, ट्विटर ९एक्स०, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक मिडिया प्लेटफर्ममार्फत विश्वभर रहेका नेपालीलाई समाचार र जानकारी सेवा प्रदान गर्दै आउनु आफूलाई युगसापेक्ष रुपमा अगाडि बढाएको रुपमा बुझेको छु । सँगसँगै नेपालको संविधानको मर्म र भावना अनुसार नेपालको बहुभाषिक प्रकृति र चरित्रलाई गोरखापत्रले प्रतिबिम्बित गर्दै ४५ भाषाका सामग्री प्रकाशन गर्दै आएकोमा गर्वानुभूति हुन्छ । यसले नेपालको सांस्कृतिक विविधता र एकता समेट्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र नेपालको अग्रणी समावेशी सञ्चार माध्यमको रूपमा आफूलाई स्थापित गरेको छ।
सञ्चारमन्त्रीको हैसियतले म विश्वस्त छु कि गोरखापत्र र यसका अन्य प्रकाशनहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनमा ठूलो योगदान पुर्‍याउने छन्। नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा गोरखापत्रको योगदान सधैं प्रेरणादायक रहनेछ।

यस अवसरमा म गोरखापत्र संस्थान र यसका सम्पूर्ण कर्मठ पत्रकार तथा कर्मचारीलाई हार्दिक शुभकामना प्रकट गर्दछु। यस संस्थानको भविष्य उज्ज्वल र समृद्ध रहोस्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले शुभकामना प्रदान गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com