सबैलाई पठाउनु होला

लागुऔषध नियन्त्रणमा सुनसरी प्रहरीले कडाइ गर्न थालेपछि तस्करहरूले गाँजा तस्करी गर्ने नयाँ विधि अपनाउन थालेका छन् । निजी गाडी,सरकारी नम्बर प्लेटका गाडि र एम्बुलेन्समार्फत् गाँजा तस्करी हुँदै आएको सुनसरीमा तस्करहरूले तरकारी बोक्ने गाडी प्रयोग गरी गाँजा तस्करीको नयाँ विधि अपनाउन थाकेका हुन्।

धनकुटाको सहिद भूमि गाउँपालिका र सागुरीगडी गाउँपालिकामा उत्पादन हुँदै आएको गाँजा तरकारी बोक्ने गाडी प्रयोग गरी सुनसरीतर्फ तस्करी हुने गरेको पाइएको छ। प्रहरीले सोमबार र मंगलबार ४ हजार २ सय ३० केजी गाँजा र तस्करीमा प्रयोग गरिएका दुईवटा मालबाहक ट्रक बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनले गाँजा तस्करी रोक्न सुनसरीका सबै नाकाहरूमा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको बताए ।

मंगलबार धनकुटाबाट तरकारी बोकेर धरान आउँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रकलाई इटहरी-२० स्थित तरहराको जंगलमा चेकजाँच गर्दा २ हजार १०० केजी गाँजा बरामद गरिएको एसपी तिम्सिनाले बताए । उनले ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलुले छोपेर गाँजा तस्करी गरिएको बताए ।

गाँजा तस्करीमा संलग्न ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका वडा-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र चेकिङ स्थानमा शंकास्पद रुपमा आएका सुनसरीको बराहक्षेत्र नगरपालिका-९ बस्ने ३४ वर्षीय सुमन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा तस्करीमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने र उनीहरूलाई समेत पक्राउ गरि प्रतिवादी बनाई मुद्दा चलाइनेछ । बरामद गरिएको गाँजासहितको ट्रक र अभियुक्त तीनैजनालाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइ घटनाको थप अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी दिए ।
सोमबार सशस्त्र प्रहरीले पनि धरानबाट तरकारी बोकेको ट्र्कमा २ हजार १३० केजी गाँजा,अदुवा र बन्दाकोपी बरामद गरेको थियो । बरामद तरकारी भन्सार कार्यालय सुनसरीमा बुझाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com