सबैलाई पठाउनु होला

गुनासो चौतारी काठमाडौँ। नेपालको वर्तमान राजनीतिक अवस्था फेरि एक पटक उथलपुथलतर्फ उन्मुख छ। यसको पछाडिको एउटा गम्भीर विषय बनेको छ पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिहरूको पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा। यो चर्चा सतहमा सामान्य लागे पनि यसको दूरगामी असर मुलुकको राजनीतिक स्थायित्व, शासन प्रणाली र संविधानिक गरिमामा पर्दछ।

 

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै राष्ट्रपति र उपराष्ट्रपतिको पद राजनीति गर्नका लागि होइन, राष्ट्रको प्रतिनिधित्व गर्न, संविधानको रक्षा गर्न र राजनीतिक तटस्थताको सन्देश दिन बनाइएको हो। तर, यदि यो पद राजनीतिक आकांक्षा भएका, शक्ति केन्द्रमा रहन चाहने वा पार्टीको पक्षमा काम गर्न चाहने व्यक्तिहरूका हातमा पुग्यो भने यसले संविधानको मर्ममाथि कुठाराघात गर्छ।

 

राजनीति गर्ने हुटहुटी र राष्ट्रपतिको पद विरोधाभाष

राष्ट्रपतिको पदमा नियुक्त हुने व्यक्तिमा राजनीतिक हुटहुटी, दलगत निष्ठा, वा सक्रिय प्रतिस्पर्धाको आकांक्षा हुनु हुँदैन। यस्तो मनस्थितिले राष्ट्रपतिलाई दलमाथि राख्ने होइन, दलको कठपुतली बनाउने खतरा निम्त्याउँछ। अहिले भइरहेको बहस चाहे त्यो कांग्रेसभित्र होस्, चाहे त्यो एमालेभित्र होस्, माओवादी वा अन्य दलभित्र सबैले एउटै सन्देश दिन्छ कि राष्ट्रपति पद राजनीतिमा बाँकी रहेका ‘महत्त्वाकांक्षी’ नेताहरूको शरणस्थल बन्ने खतरा बढेको छ।

 

साँच्चै राजनीति गर्ने हुटहुटी हुँदाहुँदै राष्ट्रपति वा उपराष्ट्रपति बन्नुमा पनि प्रश्न उठाउनुपर्छ। राष्ट्रपति उपराष्ट्रपतिको मोह पनि नछोड्ने राजनीति गर्ने हुटहुटी पनि नछोड्ने प्रवृत्तिले राष्ट्रपतिको गरिमा उपराष्ट्रपतिको गरिमा लाई कहाँ पुर्‍याउँछु ?

 

संविधानले के भन्छ? औपचारिकता मात्रै?

कतिपयले तर्क गर्छन् “संविधानले त रोकेको छैन, अनि के फरक पर्छ?” तर यहाँ मूल प्रश्न संविधानको अक्षर होइन, संविधानको मर्म हो। राष्ट्रपतिको पद संविधानको संरक्षकको हो उसले दलगत प्रतिस्पर्धाभन्दा माथि उभिनुपर्ने हो। उसले सबै पक्षको सम्मान र विश्वास जित्न सक्नुपर्छ। यदि त्यो पदमा सक्रिय राजनीतिमा फर्किने चाहना भएका व्यक्ति जान्छन् भने, त्यो संविधानको मर्ममाथि प्रहार हुनेछ।

 

पदप्रतिको मोह वा राष्ट्रप्रतिको निष्ठा?

राजनीति गर्ने रहर अझै बाँकी हुँदा राष्ट्रपति वा उपराष्ट्रपति बन्ने निर्णय त्यो होस् व्यक्ति विशेषले लिएको या पार्टीले दिएको यसले पदको गरिमामाथि प्रश्नचिन्ह उठाउँछ। पदप्रतिको मोहले राष्ट्रप्रतिको निष्ठालाई ओझेलमा पार्न मिल्दैन। सच्चा नेतृत्व भनेको त पद स्वीकार्नुभन्दा पनि उचित समयमा पद अस्वीकार गर्न सक्ने साहस हो।

 

सन्देश के जान्छ?

राजनीतिक हुटहुटी भएका व्यक्तिहरू राष्ट्रपति/उपराष्ट्रपति बनेपछि र फेरि राजनीतिमा फर्केपछि, त्यसले जनतामा यस्तो सन्देश जान्छ

“राष्ट्रपतिको पद कुनै विश्राम गृह हो। पद समाप्त भएपछि सक्रिय राजनीतिमा फर्कन मिल्ने सानो ‘ब्रेक’ हो।”

यसो हुँदा संविधानले परिकल्पना गरेको सम्मानित, तटस्थ र गरिमामय संस्था एक दलविशेषको राजनीतिक खेल मैदानमा रूपान्तरण हुन पुग्छ ।

 

आजको आवश्यकता राजनीतिक दलले गम्भीरतापूर्वक यो सोच्नु पर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्त्वहरूलाई यसले झन् बलियो बनाउने हतियारको रूपमा लिन सक्छ ।

राष्ट्रपतिमा को जाने भन्ने होइन, किन जानुहुन्छ?

राजनीतिक आकांक्षा भएका व्यक्तिहरूलाई यो पद दिनु संविधानमाथि विश्वास गुमाउने कार्य हो। यस्ता व्यक्तिहरूले स्वयं पद अस्वीकार गर्नु नै संविधानप्रतिको सम्मान र राष्ट्रप्रतिको निष्ठा हो।

 

अब आवश्यक कुरा

राष्ट्रपतिको पदमा दलभन्दा माथि उठेका, राजनीतिक प्रतिस्पर्धाबाट टाढा रहेका, विवेकशील, तटस्थ र जनस्वीकार्य व्यक्तित्वलाई नियुक्त गरियोस्। किनकि भोलिका दिनहरूमा फेरि पनि यस्तै समस्याहरु नझरियोस्।

 

राजनीतिक दलहरूमा गम्भीर बहस होस् शक्तिको होइन, सन्तुलन र स्थायित्वको राजनीति गरौं।

पद मोहको राजनीति अन्त्य गरौं, पदको गरिमा जोगाऔं।

नेपाल अहिले स्थायित्व र विकासको दिशामा अघि बढ्नुपर्छ, न कि व्यक्तिवादी शक्तिकेन्द्रहरू निर्माण गर्ने दिशामा। लोकतन्त्र बलियो बनाउन पदमाथि होइन, पदमाथिको आचरण र सोचमाथि प्रश्न उठाउन आवश्यक छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com