काठमाडौं, २५ साउन गुनासो चौतारी
नेकपा एमालेसँग सम्बन्धित विवादित मोडहरू र विभाजनको संघारमा पुग्दा ‘कार्की ब्याङ्क्वेट’ पत्रकार सम्मेलनको प्रमुख साक्षी बन्दै आएको छ। विगतका घटनाहरूलाई स्मरण गरिने हो भने, यही स्थलबाट भएका पत्रकार सम्मेलनहरूले एमालेका महत्त्वपूर्ण मोडहरूलाई नयाँ मोड दिएका छन् कतिपय अवस्थामा विभाजनतर्फै धकेलेको छ।
माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालजस्ता नेताहरूले एमाले वा नेकपामा असहमत भएपछि कार्की ब्याङ्क्वेटमै पत्रकार सम्मेलन गरी अलग बाटो रोजेका थिए। त्यहीबाट माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको नयाँ मोडले आकार लिएको थियो।
त्यस्तै, पछिल्लो समय नेता भीम रावलले पनि पार्टीबाट अलग हुने घोषणा कार्की ब्याङ्क्वेटमै गरेका थिए। यद्यपि केही समयपछि उनी पुनः पार्टीमा फर्किए, तर त्यसबेला पार्टीभित्र गम्भीर तरंग उत्पन्न भएको थियो।
यसै सन्दर्भमा, आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सोही स्थानमा पत्रकार सम्मेलन बोलाएकी छिन्। एमालेमा पुनः सक्रिय हुने चर्चा चुलिएको बेलामा उनले सार्वजनिक रूपमा आफ्नो धारणा राख्न लागेकी छिन्। तर समय र स्थानको सन्देशले राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गरेको छ।
एमाले पार्टी सशक्त बनाउने प्रयास भइरहेको बेलामा यस्ता पत्रकार सम्मेलनहरूले पार्टी एकताको सन्देश भन्दा पनि फुट र असहमतिको सङ्केत दिने चर्चा भइरहेका छन्।
विगतलाई विश्लेषण गर्दा “कार्की ब्याङ्क्वेट राजनीतिक विभाजनको प्रतीकस्थलझैं बन्दै गएको छ। यो स्थानमा गरिएको पत्रकार सम्मेलनले प्रायः पार्टीभित्रको दरार झल्काउने गरेको इतिहास छ।”
आजको पत्रकार सम्मेलनपछि पनि एमाले एकताबद्ध रहन्छ कि पुनः भित्री खालको विघटनको संकेत प्रष्टिन्छ यो यथार्थ चाँडै खुल्नेछ।

