आमा–बहिनीको आँखामा आशाको उज्यालो: बिपिनको खोजमा इजरायलको यात्रा
गुनासो चौतारी
७ अक्टोबर, २०२३ को त्यो भयावह बिहानले एउटा नेपाली परिवारको संसार नै उल्टाइदियो। इजरायलको किब्बुज आलुमिममा आफ्नो सपनाको भविष्य बुनिरहेका बिपिन जोशी अचानक युद्धको आँधीमा परेर हमासको कब्जामा पुगे। त्यो दिनदेखि अहिलेसम्म, उनका घरको आँगनमा आशाको पालुवा पलाउन सकेको छैन, तर निराशाको तुफान भने पटक–पटक बेग बढाउँदै आएको छ।
आज, वर्ष दिनभन्दा लामो प्रतीक्षापछि, बिपिनकी आमा पद्यमा जोशी र बहिनी पुष्पा जोशी हातमा तस्विर र मुटुमा करुणा बोकेर इजरायलतर्फ उडेका छन्। यो यात्रा उनीहरूको लागि मात्र यात्रामात्र होइन, यो त एक छोरी र एक आमाले गरेको हृदयको तीर्थयात्रा हो ।जहाँ प्रत्येक कदममा प्रार्थना र प्रत्येक सासमा आशा मिसिएको छ।
इजरायलस्थित नेपाली दूतावास र त्यहाँको सरकारको पहलमा बोलाइएका उनीहरूलाई इजरायलको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसँग भेट्ने तालिका तय भएको छ। उनीहरू त्यहाँ १० दिनसम्म रहनेछन्। यिनै दिनहरूमा परिवारको मनमा एउटा प्रश्न बारम्बार बजिरहन्छ।
“कसैले हामीलाई बिपिनबारे केही सुनाइदिन्छ कि?”
हमासले कब्जामा राखेका २ सयभन्दा बढी नागरिकमध्ये केहीलाई त रिहा गरिसकेका छन्, तर बिपिनको खबर अझै रातको अन्धकारभित्र हराइरहेको छ। तर आमा–बहिनीको मुटु भन्छ शायद, यतिबेला, यो उपस्थिति, यो अनुरोध, यो आँसु, र यो माया, बिपिनसम्म पुग्नेछ।
नेपालमा बिपिनको घरको ढोकामा अझै उनका लागि राखिएको खाट खाली छ, थालमा अन्नको छेउमा राखिएको पानी अझै सुक्न दिइएको छैन। आँगनमा हावा चल्दा लाग्छ शायद, कहिले बिपिनको आवाज यो पर्खाइको मौनता चिर्न आउँछ।
आज, बिपिनको आमा र बहिनी आकाशको यात्रामा छन्, तर उनीहरूको गन्तव्य केवल इजरायल होइन उनीहरूको गन्तव्य बिपिनसम्म पुग्ने बाटो हो। र त्यो बाटो, उनीहरूको विश्वासमा, अझै बन्दभएको छैन।

