काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट २.५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको मप्र ०१ ००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा चाँदीसहित एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ निवासी २५ वर्षीय किसन साह रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार साहले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदी बरामद गरिएको हो।
बरामद गरिएको चाँदीको मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

