१६ माघ, काठमाडौं ।
प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने वीर शहीदहरूको स्मृतिमा आज देशभर शहीद दिवस मनाइँदैछ।
वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। काठमाडौं महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम आयोजना गरी ‘शहीद सप्ताह’ मनाउँदै आएको छ।
स्वतन्त्रताको माग गर्दै विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका (रत्नपार्क) देखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिँदैछ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड तथा मार्चपास टोलीसहितको प्रभातफेरी लैनचौर पुगेर ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम छ।
कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
यसैबीच, लखन थापादेखि पछिल्ला स्वतन्त्रता आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा गोकर्णेश्वर नगरपालिकाको उत्तरपूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम आयोजना हुँदैछ। मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार निर्माण भइरहेको स्मारकमा वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।
वि.सं. २०६३ अघि शहीद दिवसका दिन शहीदगेटमा राज्यस्तरीय विशेष कार्यक्रम आयोजना हुने गर्दथ्यो। त्यसयता भने लैनचौरस्थित शहीद स्मारकमा मुख्य कार्यक्रम हुँदै आएको छ। शहीदगेटमा समेत विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शहीद दिवस मनाउने गरेका छन्।
पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने स्थल राखिने घोषणा गरिए पनि त्यो अझै सञ्चालनमा आउन सकेको छैन।

