चुनावअघि जनता, चुनावपछि दूरी : नेताहरू किन बदलिन्छन् ?
चुनावको समय नजिकिँदै गर्दा नेताहरू जनताको घर आँगनमै देखिन्छन्। बिहानैदेखि रातिसम्म घरदैलो, फोन सम्पर्क, भेटघाट, गुनासो सुन्ने तत्परता सबै कुरा त्यही बेला प्रशस्तै हुन्छ। तर चुनाव जितिसकेपछि त्यही नेताहरूलाई जनतासँग समय मिलाउन किन गाह्रो पर्छ ? जनताको फोन किन उठ्दैन ? संवाद किन टुट्छ ?
यो प्रश्न आज आम नागरिकको मनमा मात्रै होइन, लोकतन्त्रकै स्वास्थ्यसँग जोडिएको गम्भीर सवाल बनेको छ।
चुनावअघि देखिएको सरलता, विनम्रता र संवेदनशीलता चुनावपछि हराउनु संयोग मात्र होइन, यो प्रवृत्ति बनेको छ। पुरानै रवाफ, पुरानै स्वभाव, सत्ता र शक्तिको घमण्ड यी सबै कुरा नेताहरूमा फेरि फर्कन्छन्। जनताको प्रतिनिधि भएर होइन, पदको मालिक भएर व्यवहार गर्ने संस्कारले राजनीतिलाई जनताबाट टाढा बनाइरहेको छ।
मूल प्रश्न स्पष्ट छ।
नेताहरू जनताको नेता बन्न चाहन्छन् कि केवल आफ्ना कार्यकर्ता र गुटको नेता ?
यदि नेता जनताको नेता हो भने उसले जितपछि झन् बढी जनतासँग संवाद गर्नुपर्छ। जनताको दुःख सुखमा साथ दिनुपर्छ। तर व्यवहारमा देखिन्छ । अवसर प्राप्त भएपछि जनतालाई बिर्सिने, पहुँचवालालाई मात्रै सुन्ने, आलोचनाबाट भाग्ने प्रवृत्ति हावी हुँदै गएको छ।
आज गाउँ टोलमा समस्या उस्तै छन् बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यको पहुँच, खेती किसानीको संकट। तर ती समस्या बोकेर जनताले नेतासम्म पुग्ने बाटो साँघुरिँदै गएको छ। प्रतिनिधि त निर्वाचित भए, तर जिम्मेवारी निर्वाचित भएजस्तो देखिँदैन।
लोकतन्त्र पाँच वर्षमा एकपटक मत हाल्ने प्रक्रियामात्र होइन। यो निरन्तर संवाद, जवाफदेहिता र उत्तरदायित्वको अभ्यास हो। जनताको फोन उठाउनु, भेट्न समय दिनु, आलोचना सुन्नु यी कुनै उपकार होइनन्, यी त निर्वाचित प्रतिनिधिको कर्तव्य हुन्।
अब प्रश्न नेताहरूकै काँधमा छ।
तपाईंहरू परिवर्तन हुन्छ कि फेरि उही पुरानै शैली दोहोरिन्छ ?
जनताको दुःखमा उभिने नेता बन्नुहुन्छ कि अवसर पाएपछि बिर्सिने पात्र ?
जनता अब मौन छैनन्। उनीहरू प्रश्न गरिरहेका छन्, मूल्याङ्कन गरिरहेका छन्। आज नसुनेका आवाज भोलि मतको रूपमा बोल्नेछन्। समयमै सचिनु नेताहरूका लागि विकल्प होइन, बाध्यता हो।
किनकि अन्ततः सत्ता जनताकै हो, र जनताबाट टाढिएको सत्ता धेरै समय टिक्दैन।

