गुनासो चौतारी,
गरिबको भविष्य होइन, दैनिक छाकको चिन्ता
गरिब, सडक बालबालिका र खुला आकाशमुनि बस्न बाध्य नागरिकहरूका लागि भविष्यको सपना होइन, आजको छाक टार्ने चिन्ता नै मुख्य प्रश्न हो। पेट भोको हुँदा नीति, योजना र प्रतिबद्धताका भाषणहरू अर्थहीन हुन्छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यतिखेर सबै दलका नेता र ‘स्वतन्त्र’ भनिने उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन्। आश्वासन बाँडिरहेका छन्, प्रतिबद्धताका लम्बेतान सूची सुनाइरहेका छन्। तर यस्ता आश्वासन नयाँ होइनन्। विगतका प्रत्येक निर्वाचनमा यही दृश्य दोहोरिएको हो।
न त गरिबी न्यूनीकरण भयो, न खुला आकाशमुनि बस्ने नागरिकको छानो जुट्यो, न मजदुर सुरक्षित भए, न बेरोजगारले रोजगारी पाए। तर हरेक चुनावमा सबैभन्दा धेरै प्रयोग गरिने वर्ग भने यही गरिब, सर्वहारा, उत्पीडित र श्रमजीवी नागरिक नै हुन्।
दैनिक छाक टार्न कठिन परिरहेको अवस्थामा ‘जसले पेट भर्न दिन्छ, उसैलाई भोट’ हाल्न बाध्य बनाइएका नागरिकको यो यथार्थ निर्वाचनमा होमिएकाहरूलाई राम्रैसँग थाहा छ। उनीहरूलाई थाहा छ स्थायी समाधान होइन, चुनावी समयमै थोत्रो राहत बाँड्दा मत बटुल्न सकिन्छ।
गरिब, भुइँमान्छे, किसान, मजदुर र बेरोजगारका समस्या समाधान गर्ने उद्देश्य होइन, चुनावभरिका लागि समस्या टालटुल गरेर मत संकलन गर्ने होड मात्र चलेको छ। यो प्रक्रिया फेरि पनि दोहोरिँदैछ, सबैलाई थाहा छ।
यथार्थमा, निर्वाचन सत्य बोल्ने समय होइन, भ्रम छर्ने समय बनाइएको छ। नागरिकमा विवेक र चेतनाको कमीलाई नै कमजोरी बनाएर राजनीतिक व्यापार भइरहेको छ।
अब आम नागरिकले बोल्नैपर्छ “हामी दुई दिन भोको बस्न सक्छौँ, तर जीवनभर होइन।
हाम्रो जस्तै दैनिकी तपाईँहरूको कहिले हुन्छ ?
हामी गरिबीको चपेटाबाट कहिले मुक्त हुन्छौँ ?”
घर घरबाट, सडक सडकबाट, चौतारा–चौताराबाट यी प्रश्न उठ्नैपर्छ। किनकि आज गरिबी देखाएर राजनीति भइरहेको छ, पीडा देखाएर व्यापार भइरहेको छ।
सचेत बनौँ।
भ्रम होइन, यथार्थ रोजौँ।

