राजनीतिक संकटको घडीमा गगन थापा : अराजकता चिर्ने सम्भावित नेतृत्व
भदौ २३ र २४ गतेपछि मुलुकको राजनीतिक परिदृश्य तीव्र रूपमा परिवर्तन भएको छ। अराजकता, अस्थिरता, भ्रष्टाचार, व्यथिति, विसंगति, कालोबजारी, ठगी र कुशासन जस्ता समस्या गहिरिँदै जाँदा राजनीतिक दलहरूभित्र जिम्मेवार नेतृत्वको खोजी अझ चर्किएको छ। यही सन्दर्भमा, नेपाली कांग्रेसका नेता गगन थापा सबैभन्दा जिम्मेवार र सक्रिय राजनीतिक पात्रका रूपमा अगाडि देखिएका छन्।
संसददेखि सडकसम्म भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएका थापा सत्तामा रहेका मात्र होइन, आफ्नै पार्टीभित्रका गलत प्रवृत्तिविरुद्ध पनि निडर रूपमा उभिँदै आएका नेता हुन्। कांग्रेसभित्रको व्यथिति, विधिहीनता र नेतृत्वको अकर्मण्यताविरुद्ध उनले विद्रोही शैलीमा प्रश्न उठाउँदै सुशासनको आवश्यकता बारम्बार औँल्याए।
यद्यपि, भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको दुर्घटनालाई उनको आवाजले रोक्न सकेन। तर त्यसपछि उनले आत्मसमीक्षा गर्दै परिस्थिति सच्याउने प्रयत्न गरे, संवादको बाटो खोजे र राजनीतिक दलहरूले सिर्जना गरेको कुशासनको समाधानका लागि पार्टीभित्रैबाट सुधारको अभियान अघि बढाए। यही प्रयासको परिणामस्वरूप नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भए।
आज कांग्रेसभित्र मात्र होइन, कांग्रेसबाहिर र स्वतन्त्र नागरिक समाजमा समेत गगन थापाप्रतिको विश्वास र अपेक्षा बढ्दो छ। राजनीतिक विचारमा दृढ, नीतिमा स्पष्ट, जनभावनाप्रति संवेदनशील र निर्णयमा निडर नेताका रूपमा उनी परिचित छन्। जनताको आलोचना, आक्रोश र निराशालाई उनले नजिकबाट बुझेका छन्, अनुभूत गरेका छन्।
यही पृष्ठभूमिमा फागुन २१ गते हुने निर्वाचनमा गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने राजनीतिक आकलनहरू हुन थालेका छन्। यद्यपि, अराजकता, अस्थिरता र भ्रमको खेती चलिरहेको अवस्थामा सत्य र विवेक सधैं विजयी नहुन सक्ने जोखिम पनि उत्तिकै छ।
तर नागरिक समाज साँच्चै सचेत, विवेकशील, अनुशासित र मर्यादित भई देशलाई स्थायित्व, शान्ति र न्यायको बाटोमा लैजान चाहन्छ भने गगन थापाको नेतृत्व अपरिहार्य हुने बौद्धिक वर्ग र राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
देश आज गम्भीर संकटमा छ । राजनीतिक अस्थिरता व्याप्त छ, भ्रष्टाचार संस्थागत बन्दै गएको छ, विदेशी शक्तिहरूको दबाब बढ्दो छ र जनताको भरोसा कमजोर हुँदै गएको छ। यस्तो जटिल अवस्थालाई चिर्दै अघि बढ्न संयमित, अडिक, निष्ठावान र देशको माटो भूगोल बुझेको नेतृत्व आवश्यक छ।
विकासको दृष्टिकोण, नीति कार्यक्रम र राष्ट्रिय संकटको गहिरो समझ भएका नेतामध्ये गगन थापा अहिलेको सन्दर्भमा सबैभन्दा परिपक्व र सम्भावनायुक्त नेतृत्व हुन सक्ने विश्लेषकहरूको निष्कर्ष छ। त्यसैले आम सचेत नागरिकहरूले उनको नेतृत्वलाई बहुमत दिएर विजयी गराउनु देशको भविष्यका लागि आवश्यक कदम हुन सक्ने तर्क अघि सारिँदै आएको छ।

