सबैलाई पठाउनु होला

काठमाडौंमा दिनदहाडै ठूलो परिमाणमा चोरी भएको घटना सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिका–२६ सरकारी धारा नजिक डेरा गरी बस्दै आएकी बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसो अज्ञात व्यक्तिहरूले ढोका फोडेर प्रवेश गरी नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका हुन्।

पीडितका अनुसार कोठामा कोही नभएको मौका छोपी चोरहरूले मूल ढोका फोडेर भित्र प्रवेश गरेका थिए। कोठाभित्र रहेको दराज तथा आल्मारी तोडफोड गरी त्यहाँ राखिएको सुनका सिक्री, औँठी, कानका मुन्द्रा, चाँदीका गरगहना तथा नगद रकम गरी करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन र उनीहरू हाल फरार रहेका छन्। आसपासका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस प्रकारका चोरीका घटनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। डेरामा बस्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन, घर खाली छोड्दा सुरक्षित ताल्चा प्रयोग गर्न तथा शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने प्रहरीले दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने दाबी गरेको छ। अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com