काठमाडौँ क्षेत्र नं. ५ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा (एमाले) का उम्मेद्वार ईश्वर पोखरेल ले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। घरदैलो कार्यक्रममार्फत् मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्ना योजना र प्राथमिकताहरू सार्वजनिक गरिरहेका छन्।
पोखरेलले निर्वाचित भएपछि राष्ट्रिय स्तरका एजेण्डा अघि बढाउने र आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र राष्ट्रिय अभिमानको पक्षमा दृढतापूर्वक उभिने उनको भनाइ छ। साथै, जातीय सद्भाव कायम राख्दै प्रभावकारी सेवा प्रवाहमा केन्द्रित रहने उनले बताएका छन्।
निर्वाचन क्षेत्रसँग सम्बन्धित पूर्वाधार विकास, निगरानी र पहललाई निरन्तरता दिने उनको दाबी छ। घरदैलो अभियानबाट जनताको गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष सुन्न पाउँदा आफू उत्साहित भएको उनले बताएका छन्।
अब मतदाताको अपेक्षा भने प्रतिबद्धता कत्तिको व्यवहारमा रूपान्तरण हुन्छ भन्नेमा केन्द्रित देखिन्छ।

