भारदह, सप्तरी | फागुन १३
जेन–जी आन्दोलनपछि देश नयाँ मोडमा उभिएको भन्दै नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले वर्तमान चुनौतीपूर्ण अवस्थामा देशलाई सही दिशामा अघि बढाउने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गर्नुभएको छ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राजविराज (सप्तरी क्षेत्र नम्बर २) मा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले देश परिवर्तनको चरणमा प्रवेश गरिसकेको र कांग्रेस पनि समयअनुसार रूपान्तरण भइसकेको बताउनुभयो। बदलिएको कांग्रेस सबैलाई सम्मान गर्ने, कसैको अनावश्यक आलोचना नगर्ने र सहकार्य तथा एकताको भावनासहित अघि बढ्ने उहाँको भनाइ थियो।
जेन–जी आन्दोलनलाई उहाँले सकारात्मक परिवर्तनको संकेतका रूपमा चित्रण गर्नुभयो। युवापुस्ताले उठाएको आवाजले देशलाई नयाँ दिशातर्फ डोर्याएको उल्लेख गर्दै अब मुलुक बदलिने प्रक्रियाको सुरुआत भइसकेको बताउनुभयो। देश र जनताको हितका लागि सबै राजनीतिक शक्तिलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
संघीयताविरोधी आवाज केही स्थानबाट उठिरहेको प्रसंगमा उहाँले अग्रजहरूको संघर्षबाट प्राप्त संघीय व्यवस्था कसैले कमजोर बनाउन नसक्ने जिकिर गर्नुभयो। संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँको धारणा थियो।
राजतन्त्रबारे धारणा राख्दै उहाँले स्पष्ट रूपमा भन्नुभयो, “हामी राजतन्त्र मान्दैनौं, गणतन्त्र मान्छौं। तर पुर्खाले दिएको योगदानको कदर गर्छौं, इतिहास बिर्सनु हुँदैन।” गणतन्त्रप्रति प्रतिबद्ध रहँदै इतिहासप्रति सम्मान व्यक्त गर्नु नै कांग्रेसको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो।

