काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन अझै टुंगो लाग्न सकेको छैन। नयाँ र पुरानो पुस्ताबीचको शक्ति संघर्ष, गुटगत समीकरण र सहमतिमा नेतृत्व चयन गर्ने प्रयासका कारण निर्णय पेचिलो बनेको हो।
प्रतिनिधिसभाका छ प्रमुख दलमध्ये पाँच दलले संसदीय दलको नेता चयन गरिसक्दा पनि नेपाली कांग्रेसभित्र भने निर्णय हुन सकेको छैन। पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, आकांक्षीहरूको बढ्दो संख्या र संस्थापन तथा इतर पक्षबीचको प्रतिस्पर्धाले प्रक्रिया लम्बिएको छ।
संसदीय दलको नेताका लागि पुरानो पुस्ताबाट अनुभवी नेता अर्जुननरसिंह केसी र भीष्मराज आङदेम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। दुवै जना समानुपातिक सांसद हुन् र लामो राजनीतिक अनुभवका आधारमा आफूलाई योग्य विकल्पका रूपमा प्रस्तुत गर्दै आएका छन्।
केसी प्रतिनिधिसभाकै ज्येष्ठ सदस्यसमेत हुन्। उनले नवनिर्वाचित सांसदलाई शपथ गराउने जिम्मेवारी पूरा गरेपछि दलको नेता चयन प्रक्रिया केही ढिला भएको चर्चा पनि छ। आङदेम्बे भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताका रूपमा चिनिन्छन् र संस्थापन पक्षको समर्थनमा रहेका मानिन्छन्।
नयाँ पुस्ताबाट भने निष्कल राई र बासना थापा को नाम पनि चर्चामा आएको छ। युवा सांसदहरूको दाबीले कांग्रेसभित्र पुस्तान्तरणको बहसलाई थप चर्काएको छ।
राईले ३६ वर्षीय युवा प्रधानमन्त्रीको उदाहरण दिँदै कांग्रेसभित्र पनि युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने तर्क गरेका छन्। थापाले आफूलाई जिम्मेवारी दिइएमा पछि नहट्ने तर निर्णय सहमतिमा हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
पार्टीभित्रका नेताहरूका अनुसार संसदीय दलको नेता सहमतिबाट टुंग्याउने प्रयास जारी छ। सहमहामन्त्री र पदाधिकारी तहमा अनौपचारिक छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
महामन्त्रीहरूले पनि चाँडै निर्णय हुने संकेत दिएका छन्। तर अहिलेको अवस्थामा पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा बीच सन्तुलन कसरी मिलाउने भन्ने प्रश्न प्रमुख बनेको छ।
पार्टीभित्र १८ प्रत्यक्ष र २० समानुपातिक सांसद रहेका छन्। टिकट वितरणदेखि नै देखिएको गुटगत असन्तुष्टि अझै पूर्ण रूपमा समाधान नभएकाले नेतृत्व चयनमा पनि त्यसको प्रभाव देखिएको छ।
यसैबीच नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच समानान्तर राजनीतिक गतिविधि बढ्दै गएको छ। पछिल्लो समय सांसद स्वागत तथा भेला कार्यक्रमहरूले पनि आन्तरिक प्रतिस्पर्धा झन् स्पष्ट बनाएको छ।
विश्लेषकहरूका अनुसार संसदीय दलको नेताको चयन केवल पदको विषय मात्र नभई आगामी दिनमा कांग्रेसको रणनीति, विपक्षी भूमिका र आन्तरिक शक्ति सन्तुलन निर्धारण गर्ने महत्वपूर्ण विषय बन्नेछ।

