कञ्चनपुर कारागारभित्र झडप : ५ कैदी घाइते
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका,१८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा पाँच जना घाइते भएका छन्।
बुधबार मध्याह्न कारागारमा रहेका ३ सय ७२ जना थुनुवा कैदीमध्ये केहीबीच सामान्य विवाद चर्किँदै जाँदा होहल्ला, गालीगलौज तथा झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनामा घाइते भएका कैदीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ।
घाइते हुनेहरूमा:
ओमप्रकाश घरेडी (२३), शुक्लाफाँटा–७भुवन नाथ (१९), शुक्लाफाँटा–११भुवन ऐर (२६), शुक्लाफाँटाआयुष बम (अन्दाजी २५), भीमदत्त–७राजु दमाई (अन्दाजी २६), बेलौरी–८
घरेडी, नाथ र ऐरको टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको छ भने बम र दमाईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी निरीक्षकको कमान्डमा १९ जनाको टोली खटाइएको छ र कारागारको अवस्था हाल नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

