काठमाडौंमा सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभाग का अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्म हुने उतार–चढावका आधारमा भाडा समायोजन गर्ने नीतिअनुसार यो निर्णय गरिएको हो र बढेको भाडादर आजैदेखि लागू भएको छ। नयाँ व्यवस्था अनुसार यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढाइएको छ भने पहाडी मार्गमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ। विभागका अनुसार यसअघि २०८१ साल पुस २२ गते भाडा समायोजन गरिएको थियो, जतिबेला डिजेलको मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ थियो। हालको भाडा वृद्धि अन्तरप्रदेशीय यात्राका लागि मात्र लागू हुनेछ भने एकै प्रदेशभित्र सञ्चालन हुने यातायातको भाडा सम्बन्धित प्रदेश सरकारले निर्धारण गर्ने व्यवस्था रहेको छ।


