सबैलाई पठाउनु होला

२६ चैत, सप्तरी ,  सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्म विस्तार भइरहेको सडक आयोजना चरम ढिलासुस्तीको शिकार बनेको छ । ८६.८३ किलोमिटर लामो चार लेन सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भए पनि पाँच वर्ष बितिसक्दा पनि काम अझै अधुरै छ, जसका कारण स्थानीयवासी दैनिक सास्ती खेप्न बाध्य छन् ।

निर्माणाधीन सडकले हिउँदमा धुलो र बर्खामा हिलोको समस्या निम्त्याएको छ । सडक छेउका बस्तीहरूमा धुलोले जनजीवन प्रभावित बनाएको छ भने स्वास्थ्यमा समेत गम्भीर असर देखिन थालेको छ । स्थानीयका  अनुसार धुलोका कारण रुघाखोकीलगायतका समस्या बढेका छन्, विद्यालय जाने बालबालिकासमेत प्रत्यक्ष प्रभावित भएका छन् ।

स्थानीयले आयोजनाको ढिलासुस्तीलाई राज्य संयन्त्रको लापरबाहीका रूपमा लिएका छन् । कञ्चनपुरका रिझन यादवका अनुसार समयमै काम नसक्नु मात्र होइन, लागत बढाउँदै लैजानु पनि गम्भीर प्रश्नको विषय बनेको छ ।

चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० मा ठेक्का लिएको यो आयोजना २०२३ अक्टोबरभित्र सक्ने लक्ष्य थियो । तर, काम नसकिएपछि पटक पटक म्याद थपिँदै हाल २०२६ जुनसम्म पुर्‍याइएको छ । पहिलो पटक १४ महिना, दोस्रो पटक १२ महिना र तेस्रो पटक ६ महिना थपिएको छ ।

लागत पनि बढेर करिब १६ अर्ब ८ करोड ५० लाख रुपैयाँ पुगेको छ । जसमा एसियाली विकास बैंकको ७१.२२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ ।

प्रगतिको अवस्था हेर्दा पश्चिमी खण्डमा ७०.७ प्रतिशत भौतिक र ५७.५४ प्रतिशत वित्तीय प्रगति भएको छ भने पूर्वी खण्डमा ६७ प्रतिशत भौतिक र ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाका अधिकारीहरूका अनुसार पछिल्लो समय निर्माण कम्पनीले मुख्य काममा ध्यान नदिई सामान्य काम मात्रै गरिरहेको छ ।

ढिलासुस्तीका कारण रूपनी, कठौना, कल्याणपुर, बिसनपुर, लहान, मिर्चैया र गोलबजारजस्ता क्षेत्र धुलाम्य बनेका छन् । अधुरा पुल, साँघुरा डाइभर्सन र कमजोर व्यवस्थापनका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।

समयमै आयोजना सम्पन्न नहुँदा जनस्वास्थ्य, यातायात र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । यद्यपि, आयोजना पक्षले ठेकेदारलाई चेतावनी दिँदै आवश्यक परे ठेक्का तोड्ने सम्मको तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com