सबैलाई पठाउनु होला

काठमाडौँ | डढेलोका कारण केही समयदेखि प्रदूषित काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँको वायुमण्डल केही दिनयता सफा भएको छ । केही दिनयता लगातार पानी परिरहेको र घाम लागिरहेकाले मौसम सफा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो समय देशको केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । शुक्रबार काठमाडौंबाट हिमशृंखलाहरू छर्लंगै देखिएका छन् ।

लामो खडेरीका कारण चैत दोस्रो सातापछि देशभर डढेलो विकराल बनेको थियो । एकै दिन ५ सय स्थानसम्म डढेलो लागेको थियो । डढेलोले जनधनको क्षतिसँगै वायुमण्डल पनि प्रदूषित भएको थियो ।

वायुमण्डल प्रदूषणले आँखा पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । वायु प्रदूषणको अध्ययन गर्ने स्विट्जरल्याण्डस्थित् ‘आईक्यू एअर’ का अनुसार काठमाडौं विश्वका ९४ सहरमध्ये प्रदूषणमा शीर्ष स्थानमा परेको थियो ।डब्लूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ (राम्रो), ५१ देखि १ सय सम्मलाई सामान्य, २ सय १ भन्दा माथिलाई धेरै अस्वस्थकर, ३ सय १ भन्दा माथिलाई घातक मापदण्ड तोकेको छ ।

आईक्यू एअरका अनुसार शुक्रबार दिउँसो काठमाडौंको एक्यूआई ५९ रहेको छ । सरकारले गत वर्ष ल्याएको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा पनि एक्यूआई ३०० नाघे विपद्का रुपमा लिइने उल्लेख छ । चैतयता देशका धेरै सहरहरुको एक्यूआई करिब ५ सयसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com