सबैलाई पठाउनु होला

पर्सा प्रहरीले लागुऔषध कारोबारको गिरोहमा आफ्नै कार्यालयमा कार्यरत् प्रहरी जवान फेला पारेको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार सिमावर्ती रक्सौलबाट हतियार र लागुऔषध खरिद गर्ने गिरोहमा प्रहरी जवानको संलग्नता देखिएको हो।

त्यो गिरोह राजधानी काठमाडौंबाट समेत पर्सा हुँदै रक्सौल पुग्ने गरेको पाइएको पाण्डेले बताए।

प्रहरीले गत वंशाख ८ गते वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट एक जनालाई पक्राउ गरेको थियो। मकवानपुर मनहरीका २५ वर्षीय राजु रानामगर सुनमिका लेखेको स्वचालित पेस्तोलसहित समातिएका थिए।

रक्सौलबाट पैदल आउँदै गर्दा रानामगर समातिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धान अनुसार त्यसदिन काठमाडौं बस्ने लागुऔषध कारोबारी राम प्रजापतिले रक्सौलका मुस्तफा भन्ने व्यक्तिसँग दुई वटा पेस्तोल खरिद गरेका थिए।

प्रजापतिले त्यसमध्ये एक थान पेस्तोल, दुई थान म्यागजिन, लागुऔषध डाइजेपाम, नुर्फिन, फिनारागन, नाइट्रोभेट ठूलो मात्रामा ल्याएर उनले वीरगन्ज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसमा राखेका थिए।

त्यो लागुऔषध लुट्ने योजना बनाएर  एउटा समूह मनकामना होटलमा पुग्यो। त्यो समूह पर्साकै हो।

त्यो समूहलाई पक्राउ गर्ने क्रममा प्रहरी जवान फेला परेका हुन्। पक्राउ पर्नेमा रौतहट सखुहवा नगरपालिका-१ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत् प्रहरी जवान २९ वर्षीय अवधेशप्रसाद यादव छन्।

उनीसँगै हातहतियार र लागुऔषध कारोबारमा संलग्न वीरगञ्ज १२ का ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाह, ४२ वर्षीय अरविन्दकुमार गुप्ता, ४२ वर्षीय कुँवर सिंह, पर्सा-१५ २४ वर्षीय नन्दन सिंह र सोही ठाउँका ३१ वर्षीय रोशन सिंह पक्राउ परेका छन्।

लुट्ने योजना भने लालबाबु सिंहले बनाएका थिए। उनीहरूले सुरूमा रानामगर र प्रजापतिलाई लागुऔषध र हतियारको कारोबार गर्ने रक्सौलका व्यक्ति मुस्तफासँग सम्पर्क गराइदिएका थिए।

घटना अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिहरू काठमाडौं तथा विभिन्न स्थानबाट हतियार र लागुऔषध खरिद गर्न पर्सा पुग्ने गरेको पाइएको पाण्डेले बताए।

पक्राउ परेकाबाट पेस्तोल दुई थान, म्यागजिन चार थान, लागुऔषध ३०० एम्पुल र १२ सय पिस नाइट्रोभेट ट्याबलेट बरामद भएको छ। पक्राउ परेका सबैलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।

‘प्रहरी जवानले पहिलेदेखि नै लागुऔषध र हतियारका कारोबारीको समूहलाई सहयोग गर्दै आएको पाइएको छ,’ पाण्डेले भने।

मनकामना गेष्ट हाउसबाट लागुऔषध लुटपाट भएपछि प्रजापति काठमाडौं फर्किएका थिए। रानामगर भने अर्को पेस्तोल लिन भारत गएका थिए।

रक्सौलबाट फर्किँदै गर्दा उनी पक्राउ परे। उनीमाथि अनुसन्धान गर्दा लुटपाटको घटना र त्यसमा संलग्न प्रहरी जवानको पोल खुलेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com