गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमण दर ब्यापक बढेको छ । गएराती तीन जना सहित दुई सातामा १२ जनाको मृत्यू भएको छ । मृतक सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको बताए । ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ उनले भने । सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ चिकित्सक सहितको टोली आवश्यक रहेको उनले बताए ।
‘त्यहाँ स्थानीयलाई काउन्सिलिङ गर्नुपर्छ, बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधी बितरण गर्ने गर्नुपर्नेछ’ अध्यक्ष भट्टले भने ‘यसका लागि गाउँपालि पनि तयार छ ।’ गाउँपालिका सँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था हेर्दा धान्न नसक्ने भएको बताउँदै उनले सचेतनाका कार्यक्रम सहित जानुपर्ने बताए ।
गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि निशुल्क याताताको ब्यवस्था पनि गरेको छ । तर स्थानीयले सेवा लिनै खोज्दैनन् । गाउँमै पुगेर निशुल्क परीक्षण र औषधी बितरण गर्दा पन स्थानीयले चेकजाँचमा चासो खासै देखाएका छैनन् ।
अहिले बारपाकमा करिब एक हजार भन्दाबढिमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ । तत्काल उपचार नगराउने हो भने मानविय क्षती बढ्ने हुँदा स्वास्थ्य बचाउनमा उपचारमा ध्यान केन्द्रित गर्न र सहयोग गरिदिन अध्यक्ष भट्टले अपिल गरेका छन् ।

