काठमाडौं । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड-१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ । दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ ।’
कोरोना संक्रमणले निम्त्याएको अहिलेको विषम परिस्थितिमा सबैले धैर्य गर्नुपर्नेसमेत उनको भनाइ छ ।
‘यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले लेखेकी छिन् ।
उक्त घटनाप्रति विभिन्न राजनीतिक दलका नेता तथा संघसंस्थाहरूले निन्दा गरेका छन् । स्वास्थ्य मन्त्रालयले दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ भने नेपाल चिकित्सक संघले ‘कालो दिन’ को रूपमा लिएको छ ।

