जेष्ठ २८ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन्। जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन्। यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्व दिएको बुझिन्छ। ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन्।
पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए। दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन्। यसअघि महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो। सुरुमा प्रधानमन्त्री ओलीले ठाकुर पक्षलाई ७ वटाभन्दा बढी मन्त्रालय दिन चाहेका थिएनन्। आन्तरिक व्यवस्थापन मिलाउन कम्तीमा १० जना व्यक्तिलाई सरकारमा पठाउनुपर्ने बाध्यता ठाकुरले सुनाएपछि ओलीले ८ वठा मन्त्रालय दिन तयार भएका थिए। ८ वटा मन्त्रालयमा ठाकुर पक्षले सहमति जनाएको थियो।
जसपा स्रोतका अनुसार राजकिशोर यादवलाई सुरुमै सरकारमा पठाउने तयारी भएको थियो। तर अन्तिममा उनको नाम काटियो। स्रोत भन्छ, राजेन्द्र महतोले यादवको नाम काटेका थिए। पछिल्लो समय ठाकुर–महतो पक्षलाई यादवको सहयोग पर्याप्त नभएको बुझाइ महतोको थियो। ‘त्यसैले महतोको सिफारिशमा यादवको नाम काटियो,’ महतो निकट स्रोतले भन्यो। त्यसपछि राजकिशोर यादव रुष्ट भए। आफूलाई सरकारमा नपठाएको विषयलाई उनले प्रतिष्ठाको विषय बनाए। स्रोतका अनुसार उनले उपेन्द्र यादव पक्षका एक शीर्ष नेतासँग पनि उनले सम्पर्क र कुराकानी अघि बढाए।
यसको सुइँको ठाकुरलाई भयो। यसैवीच, यादवले बुधबार साँझ प्रधानमन्त्री केपी ओलीलाई एक्लै भेटे। प्रधानमन्त्रीलाई पनि कन्भिन्स गराए। ओलीले ठाकुरको समस्या बुझे। ठाकुर पक्षभित्र आन्तरिक व्यवस्थापन मिलाउन प्रधानमन्त्रीले यादवलाई मन्त्री बनाएको स्रोतको भनाइ छ। राजेन्द्र महतोले चाहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ओलीले यादवलाई दिएका छन्।
प्रतिनिधिसभामा जसपाको ३४ सिट छ। त्यसमध्ये दुईजना सांसद रेशम चौधरी र हरिनायाण रौनियार हाल निलम्बित अवस्थामा छन्। बाँकी ३२ सिटमा पूर्वराजपाको १६ र पूर्व समाजावदीको १६ सिट हो। पूर्वराजपाका अध्यक्ष मण्डल सदस्य तथा सांसद महेन्द्र यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। तर यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका छन्। यसबाट ठाकुरको पक्षमा २० जना सांसद पुगेका हुन्।
यादव पक्षबाट कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका ५ सासदमा बीमल श्रीवास्ताव, उमाशंकर अरगरैया, रेणुका गुरुङ,रुही नाथ र कल्लुदेवी विश्कर्मा हुन्। यी मध्ये ३ सांसद श्रीवास्तब, अरगरिया, र गुरुङ मन्त्री भएका छन्। कित्ता परिवर्तन गरेर पनि मन्त्री नभएका दुई सांसदलाई पनि ‘चित्त बुझाइएको’ ठाकुर पक्षका एक कार्यकारिणी सदस्यले बताए। कसरी चित्त बुझाइयो भन्ने बारेमा भने उनले खुलाउन चाहेनन्। ठाकुर पक्षमा सक्रिय भएर पनि मन्त्री हुन नपाएका प्रमोद साह असन्तुष्ट भएका छन्। उपेन्द्र यादव पक्षमा अहिले १२ जना सांसद मात्र छन्। तर कार्यकारिणी समितिमा भने यादव बहुमतमा छन्।

