असार १७ गते बिहीवार : लगातारको बर्षाका कारण गोरखाका बिभिन्न सडक खण्ड अबरुद्ध भएका छन् । गएराति थपिएको भारी बर्षाका कारण गोरखा आँबुखैरेनी सडकखण्डको तीन किलो क्षेत्रमा पहिरो खसेको छ । पहिरो अबरुद्ध भएको उक्त सडकखण्ड पहिरो पन्छाएर एक तर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
जिल्ला भित्रको दर्जनौ स्थानहरुमा पहिरो गएको जानकारी आएका उहाँले बताउनुभयो । दाहालले दिएको जानकारी अनुसार गोरखा–खैरेनी सडक खण्डको ३ किलो क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी सडक खुल्ला गरिएको छ । त्यस्तैगरी १५ किलो क्षेत्रमा पनि पहिरो जादा एक तर्फी मात्र सडक सञ्चालनमा आएको छ ।
उता सिरानचोक गाउँपालिका भित्र पर्ने ११ किलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक अन्तरर्गतको भालुस्वाराँमा पहिरोले सडक अबरुद्व पारेको छ भने पालुङटारबाट आँपपिपल जाने सडकमा पनि पहिरो गएर सडक अबरुद्व भएको छ ।
रातीदेखीको अबिरल बर्षाले पालुङटार नगरपालिकाको हवाई मैदान नजिकै पहिरो गएर सडक अबरुद्व भएको छ । पहिरो गएको सबै क्षेत्रमा अहिले मेशिन प्रयोग गरेर पहिरो पन्छाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

