साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । आफूलाई प्रधानमन्त्री बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउने उनको चाहना छ । यसबारेमा उनले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका छन् ।
माधव नेपालले भने विश्वासको मत दिएपनि आफूहरु तत्काल सरकारमा नजाने अडान लिएका छन् । तर, उनी पक्षधर सांसदहरुले भने सरकारमा जानुपर्ने मत राखेका छन् । देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । यी २२ जनालाई नै एमालेको आज बसेको केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री देउवाले आजभोलि भित्रै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले माधव नेपाल पक्षलाई सम्मानजनक रुपमा सरकारमा सहभागी गराउने वचन पनि दिएका छन् ।
आफ्नै पार्टीबाट पनि मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । देउवाले हालै बसेको पदाधिकारी बैठकमा समेत सरकारमा सहभागी हुनेहरुको नाम दिन नेताहरुलाई आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलसँग उनले नाम मागेका छन् । सरकारमा क–कसलाई पठाउने भन्नेबारे पौडेल पक्षमा छलफल चलिरहेको छ । उता, यसपटक बिनोद चौधरी पनि कांग्रेसबाट मन्त्री बन्ने चर्चा चलेको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त हुनेबित्तिकै उनी अर्थमन्त्री बन्ने चर्चा थियो । तर, अर्थमन्त्री भने माओवादी केन्द्रबाट जनार्दन शर्मा बनिसकेका छन् ।

