साउन ८,काठमाडौ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
यो पराकम्पन नभई नयाँ भूकम्प हो । सानो भूकम्प भएपनि यसको सतह नजिक भएकाले झड्का दिएको थियो ।मध्य नेपाल देशभरिमै तुलनात्मक रूपमा धेरै भूकम्प रेकर्ड गरिएको भाग हो । सन् १२५५ मा तत्कालीन राजा अभय मल्लको मृत्यु भूकम्पका कारणले भएको केही रिपोर्टहरूले देखाएका छन् ।
सन् १२५५ पछि २०१५ सम्ममा यो क्षेत्रमा ७ वटा ७ भन्दा बढी म्याग्नेच्युडका भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् । मध्य नेपालमा वि.सं। २०७२ भन्दा पहिला सन् १८६६, १८३३, १८१० मा पनि केही ठूला भूकम्प रेकर्ड गरिएका थिए ।
२०७२ को भूकम्पको दरार जमिनको सतहसम्म आएको देखिएन जुन कुराले मध्य नेपाल र काठमाडौंमुनिको शक्ति पूर्ण रूपमा ननिस्किएको प्रमाणित गर्दछ । यस्तो अवस्थामा पूरै शक्ति जमिनमा निस्कन कि ठूलो भूकम्प जानुपर्छ कि साना भूकम्प धेरै जान पर्छ । तर केही अध्ययनले हजारौं साना भूकम्पले निष्कासन गर्ने शक्ति नगण्य मात्रामा मात्र हुने र ठूलो भूकम्पको जोखिम नघट्ने देखाएका छन् ।
विगतमा गएका भूकम्पका ढाँचा र वि.सं। २०७२ को भूकम्पले जमिनमुनिको शक्ति जमिनको सतहसम्म नल्याएका कारणले मध्य नेपाल उच्च जोखिममा रहेको देखाउँछ ।

