साउन ७,वीरगन्ज (पर्सा) । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ सखुवनिया टोल स्थितका सुकुम्बासीहरुले आफूहरुको बासको व्यवस्था गरेर मात्रै वनको जग्गा खाली गराउनुपर्ने माग गरेका छन् । विगत लामो समयदेखि वनको जग्गामा बसोबास एवं खेतीपाती गर्दै आएका सुकुम्बासी समुदायका व्यक्तिहरुले पत्रकारसँग भेटघाट गर्दै वन कार्यालयले जग्गा खाली गराउने नाममा आफूहरुमाथि दमन गरेको आरोप लगाएका हुन् ।
डिभिजन वन कार्यालयका प्रमुखले सुकुम्बासी परिवारले खनजोत गर्दै आएकाे जग्गामा वृक्षारोपण गर्ने बहानामा सुकुम्बासीको जीवनयापनको बाधक बनेको भन्दै नेपाल सरकारले वृक्षारोपणको लागि पठाएको ३ करोड रकम झ्वाम बनाउनका लागि नै यो सबै षडयन्त्र भइरहेको आरोप लगाएका छन् । उनीहरुका अनुसार वनका कर्मचारीहरुले वृक्षारोपणको नाममा झारा टार्ने काम गरी बजेट सक्याएर जाने योजना रहेको उनीहरुको भनाई छ ।
लामो समयदेखि आफूहरु यही बस्दै आएको र अहिले आएर वन कार्यालयले वृक्षारोपणको नाममा तारबार लगाएर घेरा लगाइरहेकोले आफूहरु बेघर हुने चिन्ताले सताएको स्थानीय महिलाको भनाई छ । सहाराको नाममा यही जग्गा मात्रै रहेको भन्दै उनले यसको विकल्पमा सरकारले केही जग्गा उपलब्ध गराइदिए आफूहरुको जीवन यापनमा सहजता हुने बताइन् । अहिले सरकारले बस्ती खाली गराउन भन्दैछ, यस अवस्थामा आफूहरु कहाँ जाने ? बालबच्चालाई कसरी पालन पोष्ण गर्ने भन्ने चिन्ताले सताएको गुनासो पोखिन् ।
वनको जग्गामा बसेका सुकुम्बासीहरुले जग्गा अतिक्रमणमा मात्रै नगरी वनको संरक्षण पनि गर्ने गरेको उनीहरुको दाबी छ । वन-जंगलमा बस्ने सुकुम्बासी समुदायका परिवारहरुले वनको संरक्षण गर्ने गरेका छन् तर अहिले वनको अतिक्रमित जग्गा खाली गराउने अभियानमा लागि परेको वनका कर्मचारीहरुको मिलोमतोमा नै वनको फडानी तथा वनजंगलको विनाश हुने गरेको स्थानीय समाजसेवी बासुदेव महतो थारुले बताए ।उनका अनुसार दशौंकौदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई विस्थापित गर्न खोजिएकाे छ ।
सुकुम्बासी समस्याको समाधान गर्न नेपाल सरकारको जिम्मा रहेको हुनाले समस्या समाधान नभएसम्म हकभोग गर्दै आएका जग्गामा कुनै किसिमको अवरोध हुनु हुँदैन भन्दै समाजसेवी थारुले मासिएको वनमा बसेका सुकुम्बासीलाई नेपाल सरकारले समाधान निकालेर मात्रै जग्गा खाली गराउनुपर्ने उनको भनाई छ ।
जहिले पनि गरिब, निमुखा परिवार नै सरकारी निकायको निशानामा पर्ने गरेको गुनासो पोख्दै अखिल नेपाल सुकुम्बासी संघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश २ संयोजक सागर कुशवाहाले बस्तीलाई लक्षित गरी जिल्ला डिभिजन वन कार्यालयले विरुवा लाउनको लागि तारवार लगाई रहेका छन्, र लामो समयदेखि रहेको यो बस्तीलाई हटाउन खोजिएको छ । स्थानीय निकायलाई समेत समन्वय नगरेर तारबार लगाएर मानसिक तनाव समेत दिएको बताए ।
नेपाल सरकारले भूमि ऐन ल्याएको छ, एकातर्फ सरकारले सुकुम्बासीलाई लालपुर्जा दिने भनि रहेको छ, अर्कोतर्फ सुकुम्बासीलाई हटाइँदैछ, यो सरकारको दोहोरो नीति किन ? भन्दै कुशवाहाले यहाँ थुप्रै खाली जग्गा छन्, विरुवा लगाउनु कुनै नराम्रो कुरा होइन, तर कसैलाई जानकारी नै नदिइकन, कसैसँग समन्वय नै नगरि वृक्षारोपणको नाममा बस्तीलाई नै लक्षित गरेर मानसिक वार गरिएको आरोप लगाए । नेपाल सरकारले ल्याएको ऐनको आधारमा हकभोग गर्दै आएको र जोतखोन गर्दै आएका सुकुम्बासीलाई लालपुर्जा दिनुपर्ने उनकाे माग छ।
राष्ट्रिय भूमि अधिकार मञ्च पर्साका अध्यक्ष अर्जुन नेपालले वनको संरचना विग्रेको अवस्थामा आएर बसेका सुकुम्बासीहरुलाई वन कार्यालयले संरचना नभएको वनलाई नै वन हो भनेर तारवार लगाएर जनतालाई थुन्ने काम गरेको आरोप लगाए । यस विषयमा विभिन्न निकायमा छलफल चलिरहेको छ, तर कसैको सरसल्लाह विना नै वन कार्यालयले आफ्नो मनोपोली तरिकाले तारवार लगाई रहेकोले यो आफूहरुलाई सहय नहुने भन्दै यस विरुद्ध आफूहरु लड्न तयार रहेको बताए ।
यता सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले वनजंगल फडानी रोक्नु सबैको दायित्व छ, तर यहाँ बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी परिवार आजदेखि नभई विगत ४० औं वर्षदेखि बसोबास गर्दै आएकोले अहिले नेपाल सरकारले एक्कासी आएर डर त्रास देखाइरहेको बताए । उहाँहरुको व्यवस्थापनको जिम्मा गाउँपालिकाको रहेकोले आफूले प्रशासनलाई केही दिनको समय दिन आग्रह गर्दागर्दै बन्दुकको आडमा प्रशासनले जबरजस्ती खाली गराउन खोजेको आरोप लगाए ।
गाउँपालिकाले पटक पटक समन्वय गर्न खोजेको अवस्थामा आफूलाई कुनै जानकारी नदिई अचानक तारबार लगाउने काम भएको भन्दै अध्यक्ष जयसवालले सुकुम्बासी परिवारले जंगल विनाश गर्ने गरि बसोबास नगरेकाे दाबी गरे । वरु सुकम्बासीहरुले वनको संरक्षण गर्ने गरेकाे भन्दै उल्टै वनका कर्मचारीहरुले नै पैसा लिएर वन विनाश गराउने काम गर्दै आएको उनकाे आरोप छ ।
यसबारे डिभिजन वन कार्यालय पर्साका अधिकृत रेयाज अन्सारीले वनको जग्गा अतिक्रमण गरेर मानव बस्ती बढ्दै गएको अवस्थामा जंगली जनावरहरु मानव वस्तीमा प्रवेश गरि जनधनको क्षति गर्नुका साथै वन जंगल पनि साँघुरिदै गएको अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार डिभिजन वन कार्यालयले अतिक्रमित जग्गा खाली गराई वृक्षारोपण अभियान संचालन गरिएको बताए ।
सखुवाप्रसौनी गाउँपालिकाको सखुवनिया एवं नयाँ बस्तीका सर्वसाधारणहरुले मात्रै ६० हेक्टरको हाराहारीमा वनको जग्गा अतिक्रमण गरेको भन्दै पर्सा जिल्लाभरि वनजंगलको अतिक्रमित जग्गा खाली गराई वृक्षारोपण गर्ने अभियान अन्तर्गत नै तारवार लगाएर वृक्षारोपणको कार्यलाई अगाडि बढाइएको बताए ।
डिभिजन वन कार्यालय पर्साले विभिन्न स्थानीय तहहरुमा १ सय ३६ हेक्टर अतिक्रमित वनको जग्गा खाली गराई वृक्षारोपण समेत गरिसकेको छ । पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सवैवा साझेदारी वनको अतिक्रमित जग्गा २७ हेक्टर, पटेर्वासुगौली गाउँपालिका अन्तर्गत भतौडामा अतिक्रमित ६० हेक्टर, जिराभवानी गाउँपालिका अन्तर्गत सुगीभारमा अतिक्रमित ४९ हेक्टर गरि १३६ हेक्टर अतिक्रमित जग्गा खाली गराई विभिन्न प्रजातिका विरुवाहरुको वृक्षारोपण समेत गरि सकेको छ ।

