साउन ८, काठमाडौं । धादिङमा कोभिड-१९ जोन्सन एण्ड जोन्सन विरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए
‘सुनौला बजार स्वास्थ्य केन्द्रमा उहाँले आज विहान साढे ११ बजे तिर खोप लगाउनु भएको रहेछ । आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर जानु भएको, तर त्यसको झण्डै एकघण्टा पछि उहाँ बेहोस हुनुभएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले लैजादा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले बताए ।
डा. पौडेलका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सन खोप लगाएका उनले अरु खोप लगाएका थिएनन् ।
वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा. पौडेल बताए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको डा. पौडेल बताए ।

