बीपी कोइराला सभापति निर्वाचित हुँदा ३८ वर्षका थिए । तर, ७५ वर्षीय कांग्रेसको नेतृत्व भने अहिले ७६ वर्षीय शेरबहादुर देउवाले गरिरहेका छन् । काठमाडौँ — कांग्रेस पार्टी २००३ सालमा स्थापना गर्दा संस्थापक नेता बीपी कोइरालाको उमेर ३३ वर्षको थियो । स्थापना भएकै वर्षको माघ १२ र १३ मा कोलकताको भावनीपुरस्थित खालसा हाइस्कुलमा भएको पार्टीको पहिलो महाविधेशनबाट टंकप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यवाहक सभापति निर्वाचित भए । ६ वर्षपछि २००९ सालमा भएको पाँचौं महाधिवेशनमा बीपी कोइराला सभापतिमा निर्वाचित हुँदा ३८ वर्ष पुगेका थिए । तीनै बीपी ४५ वर्षको उमेरमा २०१६ जेठ १३ मा दुईतिहाइ जनमतका साथ पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । बीपीजस्ता युवा नेताहरूले जन्माएको कांग्रेस हुर्काउँदा पनि उनका समवयीहरू नै सक्रिय थिए । तर, ७५ वर्षीय कांग्रेसको नेतृत्व अहिले भने ७६ वर्षीय शेरबहादुर देउवाले गरिरहेका छन् । पार्टी मात्रै होइन, यतिबेला राज्यसत्ताकै नेतृत्व सम्हालिरहेका देउवा मंसिरमा हुने १४ औं महाधिवेशनमार्फत सभापति बन्ने र आम निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री बन्ने मार्गचित्रमा छन् ।देउवा भने संस्थापनइतर पक्षमा भइरहेको नेतृत्वको भिडन्तलाई नियालिरहेका छन् । प्रतिद्वन्द्वी खेमाबाट एउटाभन्दा बढी उम्मदेवार हुँदा त्यसको लाभ आफूलाई मिल्ने आकलन उनको छ । तर, उनी आफैंलाई पनि पहिलाजस्तो सहज छैन । पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका गोपालमान श्रेष्ठले पनि सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । उमेर र सरकारको व्यस्तताले देउवाबाट पार्टी चल्न नसक्ने ठम्याइ श्रेष्ठको छ । पछिल्लोपटक प्रवक्ता शर्माले समेत आफ्नै विवेकमा उम्मेदवारी घोषणा गरेकाले देउवा दबाबमा छन् । अब आफ्नै पक्षबाट पनि महामन्त्रीका लागि दाबेदार बढी भएकाले व्यवस्थापन गर्न असहज छ । महामन्त्रीका लागि बालकृष्ण खाँण, प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र रमेश लेखकको दाबी छ । ‘व्यवस्थापन हुन नसक्ने खालको समस्या सभापतिका लागि छैन,’ सहमहामन्त्रीसमेत रहेका महतले भने, ‘सेटल गर्न सकिने प्रशस्त ठाउँ छन् ।’
०४८ सालको आम निर्वाचनपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका देउवा ०५२ सालमा पहिलोपल्ट प्रधानमन्त्री भए । प्रधानमन्त्री छँदा उनी ४९ वर्षका थिए । अहिले पाँचौंपटक प्रधानमन्त्री बनेका छन् । विभाजन भएको बेला कांग्रेस (प्रजातान्त्रिक) र एकीकृत भएपछि नेपाली कांग्रेसकै सभापति भए । देउवासँगै पौडेल पनि ०४८ सालदेखि नै निरन्तर राज्य सत्तामा सामेल छन् । देउवा पहिलोपल्ट प्रधानमन्त्री छँदा उनी सभामुख बने । पटकपटक मन्त्री भएका पौडेल पार्टीमा सुशील कोइरालाको निधनपछि छोटो समय कार्यवाहक सभापति भए । ०४८ सालदेखि निरन्तर पार्टीको केन्द्रमा रहेका देउवा र पौडेलमध्ये एकले नेतृत्व लिएमा कांग्रेसको युवा पंक्तिमा निराशा थपिने निश्चित छ ।

