मोरङ — बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एकदिने अध्यक्ष बनेर गाउँपालिका सञ्चालन गरिन् । बुढीगंगा–२ सक्माकी सुस्मितालाई ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले एकदिने अध्यक्षको जिम्मेवारी लिखितरुपमै हस्तान्तरण गरेका थिए । उनलाई आर्थिक र प्रशासनिक बाहेकका अधिकार दिइएको थियो । सुस्मिताले अध्यक्षको पदभार ग्रहण गरेपछि गाउँपालिका अध्यक्ष माझीलगायत गाउँपालिका परिवारलाई धन्यवाद ज्ञापन गरी दिनभरिको काममा सबैलाई सघाउन आग्रह गरिन् । उनले तत्काल कार्यपालिकाको बैठक बोलाएर गाउँपालिकाको बारेमा जानकारी लिई दिनभरि गर्ने कामको बारेमा छलफल गरिन् । छलफलमा बिना कुनै ढिलासुस्ति छिटो, छरितो र सहज रुपमा गाउँपालिकाको सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिइन् । छलफलमा एकदिने अध्यक्ष सुस्मितालाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले सहजीकरण गरेका थिए ।
छलफलपछि सुस्मिताले स्वास्थ्य चौकी बुढीगंगा र कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरिन् । स्वास्थ्य चौकी अनुगमन गर्ने क्रममा उनले स्वास्थ्यकर्मीहरूलाई सेवाग्राहीलाई भरपर्दो र सहज सेवा प्रदान गर्न निर्देशन दिइन् । विद्यालयको अनुगमनपछि सरसफाइमा ध्यान दिन विद्यालय प्रशासनलाई उनले निर्देशन दिइन् । गाउँपालिका, स्वास्थ्य चौकी र विद्यालयको शौचालयमा चुकुल, महिलाले प्रयोग गर्ने सेनिटरी प्याड व्यवस्थापन गर्ने व्यवस्था गर्न सुस्मिताले प्रमुख प्रशासकीय अधिकृत बराललाई निर्देशन दिइन् ।
गाउँपालिकाको कार्यालयमा फर्केर उनले जनताको गुनासो सुनेर कार्यपालिकाको बैठक बोलाइन् । बैठकमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालनका लागि बाल क्लबले पेस गरेको प्रस्तावमाथि छलफल गरी ५० हजार बजेट निकासा दिने निर्णय गरिन् ।
बैठकमा उनले गाउँपालिकामा निर्माण हुने भौतिक संरचना बालमैत्री बनाउने, सन् २०२५ भित्र गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणाका लागि आजैबाट काम थाल्ने र लामो समयदेखि बन्द रहेका विद्यालयमा सरसफाइ अभियान गरेपछि मात्रै कक्षा सञ्चालनको तयारी गर्ने निर्णय गरिन् । उक्त निर्णयपछि सुस्मिताले एकदिने अध्यक्षको जिम्मेवारी गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरिन् ।
गाउँपालिका अध्यक्ष माझीले बालिका सुस्मिताले गरेको तीनबुँदे निर्णय कार्यपालिको शुक्रबार बस्ने बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । ‘बालबालिकालाई बाल दिवसको अवसरमा चकलेट बाँडेर मनाउने परम्परागत शैली तोड्दै फरक ढंगले मनायौं,’ उनले भने, ‘सुस्मितालाई एक दिनको अध्यक्षको जिम्मेवारी दिएर समाजका अत्यन्तै तल्लो तहका भूमिहीन, दलित समुदाय, बालबालिकालगायतले अहिलेसम्म हामीले गाउँपालिकाबाट दिएको सेवालाई कुन रुपमा बुझेको र उहाँहरूको अपेक्षा के रहेको बारे जान्ने अवसर प्राप्त भयो ।’ उनले सुस्मिताको एकदिने अध्यक्षको जिम्मेवारीको अनुभवलाई प्रेरणाको रुपमा लिएर अबको बाँकी कार्यकाल गाउँपालिका सञ्चालन गर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले एक दिन ऋषिदेव समुदायकी बालिकासँग काम गर्न पाउँदा बालबालिका र विपन्न, दलित, सुकुम्बासीको बारेमा अत्यन्तै फरक अनुभूति भएको बताए । ‘बाल दिवसको अवसरमा बालबालिकालाई गाउँपालिकाको सेवालगायतको समग्र पाटोमा जानकारी गराउने उद्देश्यले एकदिने अध्यक्ष बनाएर कार्यक्रम सञ्चालन गर्यौं,’ उनले भने, ‘तर ती बालिकाले के सिकिन्, त्यो उनैलाई अनुभूति भयो तर हामीले बालबालिका, किशोरी, महिला, विपन्न, दलित, सुकुम्बासीको गाउँपालिकाप्रतिको बुझाइ र अपेक्षाबारे जान्ने अवसर प्राप्त गर्यौं ।’
एकदिने अध्यक्ष भएकी बालिकासँग दिनभरि काम गर्न पाउँदा बालबालिका, महिला र विपन्न, दलित, सुकुम्बासीप्रतिको सोचमा परिवर्तन ल्याइदिएको बरालले सुनाए । ‘एकदिने अध्यक्ष बालिकासँग काम गरेको अनुभवले बालबालिका, महिला, दलित, सुकुम्बासी, विपन्नकोबारे अत्यन्तै धेरै काम गर्ने बाटो पहिल्याइदियो,’ उनले भने, ‘गाउँपालिकाको अध्यक्षसँग काम गर्दा दिनभरि पुरानै विषयमा घोत्लेर त्यतिकै दिन बित्ने थियो तर बालिकासँग काम गर्दा अत्यन्तै फरक र नयाँ ज्ञान प्राप्त गर्ने अवसर पायौं ।’

