सबैलाई पठाउनु होला

काठमाडौँ — नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले कार्यकालको अन्त्यतिर विभाग गठन गर्दा वरिष्ठ नेता शेरबहादुर देउवाले आरोप लगाएका थिए– पार्टीको विधान र पद्धतिमाथि प्रहार भयो । महाधिवेशनलाई प्रभावित गर्न विधानविपरीत विभाग गठन गरियो । देउवाको विरोधकै कारण कोइरालाले विभाग गठनको निर्णय खारेज गरेका थिए । कोइरालाको निधनपछि २०७२ फागुनमा भएको १४ औं महाधिवेशनमा देउवा सभापति निर्वाचित भए । उनले आफ्नो कार्यकालभरि विभाग गठन गरेनन् । बरु महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि विभाग गठन गरेर आफ्ना निकटलाई मनोनीत गरे । त्यसको पार्टीभित्र चर्को विरोध भयो तर देउवाले आफ्नो निर्णय उल्ट्याएनन् ।

‘जो नेता नेतृत्वमा पुगे पनि गलत परम्परालाई निरन्तरता दिने काम भएको छ, यो पार्टीको आन्तरिक लोकतन्त्रका लागि निकै घातक हो,’ नेपाली कांग्रेस : ऐतिहासिक दस्तावेजहरू पुस्तकका संकलक तथा सम्पादकमण्डलका सदस्य प्रताप पौडेलले भने ‘विधानले पार्टीलाई मार्गनिर्देश गर्नुपर्ने हो तर कांग्रेसमा नेतृत्वले आफ्नो अनुकूलतामा पार्टी चलाउने परम्परा बसेको छ ।’

साढे सात दशक पुरानो पार्टी कांग्रेसलाई नेपालमा लोकतन्त्रको जननी भन्ने गरिन्छ तर लोकतन्त्र जन्माउने त्यही पार्टीको आन्तरिक लोकतन्त्रमाथि निरन्तर प्रश्न उठ्ने गरेको छ । नेतृत्वमा पुगेपछि विधानविपरीत क्रियाकलाप गर्ने, लोकतान्त्रिक पद्धतिभन्दा निरंकुश तवरले पार्टी–सत्ता चलाउने, विधि र प्रक्रिया मिचेर मनमौजी तबरले काम गर्ने आरोप नेतृत्वमाथि लाग्ने गर्छ । हिजो नेतृत्वबाहिर रहँदा औंला उठाउने सभापति देउवा अहिले आफैं ती आरोप सामना गरिरहेका छन् ।

‘क्रियाशील सदस्यता वितरणमा एकलौटी, भ्रातृ संस्थामाथि हस्तक्षेप, विभाग र अन्य निकायमा विधानविपरीत मनोनीत अहिलेको नेतृत्वले पनि गरिरहेको छ,’ पौडेलले भने, ‘नेतृत्वमा पुगेपछि विगतका कमजोरीबाट पाठ सिकेर सुधार गर्नुपर्नेमा आफैंले कमजोरीलाई निरन्तरता दिनु ठूलो विडम्बना हो ।’ विधिमा चल्दा बाँधिनुपर्ने कारणले नेतृत्वले सधैं विधि मिचेर काम गर्ने गरेको उनले बताए ।

यतिसम्म कि बीपीसँगै कांग्रेस जन्माउने गणेशमान सिंहले २०५१ सालमा पार्टीबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको गम्भीर मतभेद र विधि–पद्धतिमाथि विचलन भएको भन्दै उनले जीवनको उत्तरार्द्धमा पार्टी त्यागेका थिए । अर्का संस्थापक कृष्णप्रसाद भट्टराई पनि २०५९ पछि पार्टीमा मौन बस्न बाध्य भए ।

पार्टीले मूल सिद्धान्त बिर्सेको र आफ्नो आवाजको सुनुवाइ नभएको उनको गुनासो थियो । कांग्रेसमा आन्तरिक कलहको प्रमुख कारण नेतृत्वको स्वेच्छाचारिता र निरंकुशतालाई मान्ने गरिन्छ । ‘विधानले निर्दिष्ट गरेको बाटोमा नेतृत्व सही ढंगले हिँड्न नसक्दा पार्टीको आन्तरिक लोकतन्त्र जोखिममा पर्ने गरेको छ,’ पौडेल भन्छन्, ‘यही कारण इमानदार र असल नेता–कार्यकर्ता पार्टीबाट बाहिरिने अवस्था पनि आउँछ ।’

१४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सञ्चालन प्रक्रियामा केही व्यवस्थापकीय कमजोरी रहे पनि समग्रमा आन्तरिक लोकतन्त्र सुदृढ रहेको दाबी गरे । नेतृत्वबाट विधानविपरीत भएको भनी लगाइएका आरोप आन्तरिक व्यवस्थापकीय कमजोरीका कारण भएको उनको भनाइ छ ।

‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकैले संविधानको भावनाअनुसार साढे ५ वर्षको सीमामा टेकेर महाधिवेशन प्रक्रिया सुरु गरेको छ,’ उनले भने, ‘निर्वाचन प्रक्रिया, निर्वाचनबाट आउने नेतृत्व पनि अत्यन्त लोकतान्त्रिक र समावेशी हुनेछ ।’ आगामी महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ गर्ने गरी नीति र कार्यक्रम पारित गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com