काठमाडौँ — १४ औँ महाधिवेशनअन्तर्गत मंगलबार कांग्रेसले काठमाडौंसहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ । वडा अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलाग्दा यसअघि यी जिल्लाको अधिवेशन हुन सकेको थिएन । अझै १३ जिल्लामा क्रियाशील सदस्यको नामावली तयार भइसकेको छैन ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिए । ‘सबै वडामा मतदान अधिकृतहरु पुगिसकेका छन् ।सहमतिबाटै अधिवेशनको वातावरण तयार गरी निर्वाचन प्रक्रिया अघि बढाएका छौँ,’ यादवले भने, ‘बेलुकासम्म धेरै ठाउँमा वडा कार्यसमितिले नयाँ नेतृत्व पाइसक्छन् ।’ वडा अधिवेशनमा वडा सभापति, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयन हुन्छ । यसपटक भने अधिकांश ठाउँमा नेतृत्व चयनका लागि चुनावै हुने अवस्था रहेको छ ।
क्रियाशील सदस्यको नामावली तयार नभएका बाँकी जिल्लामा पनि क्रमशः अधिवेशन हुने केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिए । ‘विवादको समाधान भइसकेको छ । अब अन्तिम नामावली तयार गर्ने काममात्रै बाँकी हो,’ उनले भने, ‘अब हामीले सार्वजनिक गरिसकेको कार्यतालिकामा असर नपर्ने गरी अधिवेशनको प्रक्रिया अघि बढ्छ ।’ कांग्रेसले पालिका तहको अधिवेशन ९ असोजका लागि तोकेको छ । कांग्रेसले प्रदेश २ का आठ वटै जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको नामावली तयार गर्न सकेको छैन ।

