सबैलाई पठाउनु होला

काठमाडौँ — हराएको भनिएको ३३ केजी सुन कसले लग्यो भन्ने खुल्न सकेको छैन । छानबिन समितिको प्रतिवेदनमा धरानका एमके अग्रवाल भनिने मोहनकुमार अग्रवाल सुन तस्करीका मुख्य लगानीकर्ता रहेको उल्लेख गरिएको छ ।

राप्रपा नेता भुजुङ गुरुङ, चूडामणि उप्रेती, रमेश उप्रेती, मोहन काफ्ले, छिरिङ वाङ्गेल घले, महावीर गोल्यान, विमल पोदारलगायतलाई तस्करीका योजनाकार भनिएको छ । उनीहरू सबै शक्ति केन्द्रसँग निकट व्यक्ति रहेको स्रोतले जनाएको छ ।सुन तस्करीको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार २०७० असार २६ गते बरामद ३५ केजी, २०७१ साउन र मंसिरमा बरामद क्रमशः २० केजी र २५ केजी, २०७४ भदौ १९ मा बरामद ८८ केजी, २०७३ चैत ४ मा विमानस्थलबाट बरामद २ लाख ८६ हजार डलरलगायतको तस्करीमा पनि पोदारको संलग्नता खुलाइएको थियो । पछिल्लो पटक ३३ केजीमा पनि पोदारको संलग्नता खुलाइयो । तर, उनीमाथि थप गहिरिएर अनुसन्धान नै गरिएन ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद

भारतीय नागरिक विनोदकुमार सोनी २०६९ असोज १९ मा सवा १ करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुबई उड्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी काठमाडौंमा सक्रिय सुन तस्करको सेटिङमा विदेशी मुद्रा लिएर दुबई उड्न लागेको खुल्यो । सोनीले प्रहरीसमक्ष विमल पोदार, मुरारीलाल जमालिया (गोयल) लगायतको योजनामा काम गरेको र आफू भरिया मात्रै भएको बताएका थिए । उनले किटान गरेका व्यक्तिले शक्ति केन्द्रसम्म पहुँच राख्छन् । छानबिन समितिले कालिकास्थानस्थित सिल्भर सिटी अपार्टमेन्टका सञ्चालकसमेत रहेका पोदारलाई पक्राउ गरेपछि अनुसन्धान नै रोकिएको थियो ।

२९२ सुन तस्करको सूची सरकारले लुकायो

छानबिन प्रतिवेदनमा तस्करी रोक्न विमानस्थलको सुरक्षा व्यवस्थापनमा सुधारका साथै नाकामा एक्सरे मेसिन जडान गर्न सुझाव दिइएको थियो । थानकोटसहित तातोपानी, रसुवागढी, काँकडभिट्टालगायत नाकामा प्रविधिबाटै मानिस तथा सामान जाँच गर्ने व्यवस्था मिलाउन भनिएको थियो । सुन कारोबारलाई पारदर्शी बनाउन कोटा प्रणाली हटाउनुपर्ने, व्यापारीले खरिद गरेको सुनअनुसारको हिसाब यकिन गर्न प्रभावकारी कदम चाल्नुपर्नेलगायत सुझाव पनि दिइएका थिए । ती सुझाव कार्यान्वयन गरिएन । पूर्वसचिव मैनालीले छानबिन समिति गठन भएपछि आम नागरिकले विश्वास गर्ने गरी सरकारले जवाफ दिनुपर्ने बताए ।

‘३३ केजी सुन हराएको केसमा अघि बढेको सुन तस्करीको छानबिन ३८ क्विन्टल सुन तस्करी भएको विषयसम्म पुग्यो तर त्यसमा संलग्न को थिए, सुन कहाँ गयो भन्ने खोइ त तथ्य र प्रमाण ?’ उनले भने, ‘यस विषयमा सरकारले नागरिकका जिज्ञासा विश्वस्त रूपमा निरूपण गर्नुपर्छ ।’ छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुनुका पछाडि ‘घटना र तथ्य/प्रमाणलाई डिफ्युज गर्ने, आगामी दिनमा थप शंकास्पदमाथि असल मनसायले अनुसन्धान गर्ने वा कसैमाथि तह लगाउन/सौदाबाजीका लागि सूचना लिने’ कारण रहेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार २०७४ माघ ९ गते दुबईबाट भित्रिएको करिब ३३ किलो सुन भारत लैजाने योजनाअनुसार भरिया सनम शाक्यले भद्रपुर पुर्‍याएपछि समूहसँग सम्पर्कविहीन भएका थिए । मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) सहित काभ्रेका टेकराज मल्ल ठकुरी, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्लेले नियन्त्रणमा लिएर करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको मृत्यु भएको प्रहरीको ठहर थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका तत्कालीन डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको टोलीले २०७४ फागुन १९ गते बा१२च ५९६३ नम्बर स्कारपियो गाडीको सिटमुनि लुकाएर राखेको अवस्थामा शाक्यको शवसहित ३ जनालाई विराटनगर महानगर–३ कन्यामार्गबाट नियन्त्रणमा लिएर मोरङ प्रहरीलाई बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com