सबैलाई पठाउनु होला

काठ्माण्डौ- सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसीसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ। बैठकलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न गए।

माओवादी केन्द्र संसदीय दलको बुधबार बिहान बसेको बैठकले संशोधन बिना एमसीसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिइन्। यसअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार राति आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरूसँग छलफल गरेका थिए।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसीसी टेबल गरे गठबन्धन भत्किने बताए। ‘यो पाँच दलीय गठबन्धनको सरकार हो। गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किन्छ। गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं’ गुरूङले भने।

अहिले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पनि एमसीसीको विरोध गरिरहेकाले अहिले एमसिसी पारित नगर्ने बरू एमालेसँग कुरा गर्नुपर्ने सुझाव छलफलमा केही नेताहरूले दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले एमसीसी टेबल गर्न दिने तर आफूहरू अनुपस्थित हुने भनी गरेको सहमतिको पनि केही नेताहरूले विरोध गरेका थिए।

संशोधन बिना एमसीसी पारित गर्न नहुने निर्णय पार्टी महाधिवेशनले नै गरेकाले अहिले बिना संशोधन पारित गर्नु महाधिवेशनको निर्णय विपरीत हुने बताएका थिए।

आजको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रबल सम्भावना छ। नेताहरूले फरक-फरक कुरा गरेपछि माओवादी केन्द्रले एमसीसी बारे निर्णय गर्न सकेको छैन।

त्यसकारण आज माओवादी केन्द्रका जनवर्गीय संगठनले सडकमा प्रदर्शन गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com