काठमाडौं – जाजरकोटका बलराम शाहीसँग अभिनेत्री रेखा थापाले अदालती बिहे गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेकाे रेखा थापाले नै बताइन् ।
९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल रहँदै आइरहेकी थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए । अभिनेत्री रेखा र बलरामबीच दुई वर्षको उमेर अन्तर छ । पेशाले पर्यटन व्यवसायी शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।
श्रोतका अनुसार गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको, तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।
माघ २८ गते काठमाडौंस्थित घरमै दुईजनाले विधिवत बिहे गरेका थिए । सानो पारिवारिक जमघटबीच उनीहरुको बिहे भएको जनाइएको छ ।
बिहे दर्ता भएपछि मात्र यसबारे जानकारी पाएकी रेखाकी आमा सरस्वती चाहिँ रेखाको बिहेलाई लिएर असन्तुष्ट रहेकी र केही समयदेखि बिराटनगरमा बस्दै आएकी छिन् । बिहे दर्ता भएपछि मात्र रेखाले आमालाई जानकारी दिएकी थिइन् ।
भारतमा जन्मिएका शाही गैरआवासीय नेपाली भनिएपनि कुन देशमा बसोबास गर्छन् भन्ने चाहिँ खुलेको छैन । शाही पर्यटन पेशामा संलग्न रहेको र मध्यमवर्गीय परिवारका रहेका जनाइएको छ ।
अन्दाज, हिफाजत, हिम्मत, हिम्मतवाली, किस्मत, कसले चोर्यो मेरो मन, काली, दुर्गा जस्ता फिल्ममा केन्द्रिय भूमिका निभाएकी रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् । उनी हालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिई पराजित भएकी थिइन् ।

